Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

सम्पत्ति विवरण पेश गर्न शिक्षकलाई निर्देशन

२० बुधबार , असार २०८१२ बर्ष अगाडि

सम्पत्ति विवरण पेश गर्न शिक्षकलाई निर्देशन

देशभरका सामुदायिक विद्यालयका शिक्षकलाई सम्पत्ति विवरण पेश गर्न निर्देशन दिइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखानाले सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकलाई सम्पत्ति विवरण पेश गर्न निर्देशन दिएको हो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०४८ कोे दफा ३१ (क) बमोजिम प्रत्येक शिक्षकले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण पेश गर्नुपर्ने कानूनी अवस्था छ ।

किताबखानाद्धारा आज जारी सार्वजनिक सूचनामा सामुदायिक विद्यालयका स्थायी शिक्षकको आर्थिक वर्ष २०८०/०८१ को सम्पत्ति विवरण सम्बन्धित विद्यालय वा स्थानीय तहले संकलन गरी जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइहरुमा बुझाउन भनिएको छ ।

इकाइहरुले जिल्लाका सबै विद्यालय शिक्षकहरुको एकमुष्ट विवरण आगामी साउन १ गतेदेखि भद्रौ २८ गतेभित्र अनिवार्य रुपमा किताबखानामा पठाउनुपर्नेछ । त्यस्तै, विद्यालयमा कार्यरत करार, राहत, बाल विकास शिक्षक, विद्यालय कर्मचारी आदिले पनि आफु कार्यरत स्थानीय तहमा सम्पत्ति विवरण बुझाउनु पर्नेछ । त्यस्तो विवरण स्थानीय तहले दर्ता गरी सुरक्षित राख्नुपर्छ ।

अध्ययन, असाधारण र अन्य बिदा, लामो काज वा निलम्बनमा रहेका शिक्षकलाई पनि तोकिएको म्यादभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिँदै किताबखानाले २०८० साउन १ गतेदेखि ०८१ असार मसान्तसम्म सेवानिवृत्त भएका शिक्षकले समेत विवरण पेश गर्नुपर्ने जनाएको छ ।