Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

घरजग्गा खरिद बिक्री गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

१५ शुक्रबार , असार २०८१४ महिना अगाडि

घरजग्गा खरिद बिक्री गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

घरजग्गा खरिद बिक्री गर्न सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने भएकाे छ । सरकारले आगामी माघ १ गतेदेखि लागुहुने गरि घरजग्गा किनबेचमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न लागेके हाे ।

गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै घरजग्गा खरिद बिक्री गर्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न लागेकाे बताएकाे हाे । अहिले घरजग्गा खरिद बिक्री राजीनामा पास र लिखत लगायतका काम नागरिकताबाट हुँदै आएकोमा आउँदाे माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रलाई सबै निकायतिर कार्यान्वयनमा ल्याउने उदेश्यले घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न लागेकाे मन्त्रालयले जनाएकाे छ ।

नेपाल सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ को दफा ३ र १० को प्रयोजनका लागि राष्ट्रिय परिचयपत्रको प्रयोग सम्बन्धमा गरेका निर्णय समेटेर गृह मन्त्रालयले राजपत्रमा सार्वजनिक सूचना प्रकाशन गरेको र अब घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य पेस गर्नुपर्ने नियम लागु गर्न लागिएकाे हाे ।

मन्त्रालयले माघ १ देखि बैंकिङ तथा वित्तीय सेवा, सामाजिक सुरक्षा कोष र घरजग्गा किनबेचसम्बन्धी सेवाका लागि पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न लागेकाे उल्लेख गरेकाे छ । विभिन्न जिल्लामा लागू हुने गरी सामाजिक सुरक्षा, स्वास्थ्य बीमा, निवृत्तीभरण, राजस्व, सवारी चालक अनुमतिपत्र, कम्पनी दर्ता तथा नवीकरणसम्बन्धी सेवा प्राप्त गर्न आगामी साउन १ देखि नै राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराइले जानकारी दिएका छन् ।

त्यस्तै आगामी माघ १ गतेदेखि सिमकार्ड लिन पनि राष्ट्रिय परिचयपत्र अनिवार्य पेस गर्नुपर्ने भएको छ भने सरकारी निकाय, संस्था तथा निजी क्षेत्रबाट प्रवाह गरिने सार्वजनिक सेवा सुविधा प्राप्त गर्न अब नागरिकता प्रमाणपत्रको सट्टा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बर पेस गर्नुपर्ने बताइएकाे छ ।