Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

लुटपाटमा संलग्न बहालवाला प्रहरी सहित चार जना पक्राउ

१३ बुधबार , असार २०८१४ महिना अगाडि

लुटपाटमा संलग्न बहालवाला प्रहरी सहित चार जना पक्राउ

डाँका चोरी तथा लुटपाट गरेको आरोपमा सशस्त्र प्रहरी बल नेपालका बहालवाला हवल्दारसहित चार जना पक्राउ परेका छन् । ‘सीआईबी प्रहरी हुँ’ भन्दै लुटपाट गरेको आरोपमा उनीहरुलाई  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौंको गोकर्णेश्वर बस्ने सिन्धुपाल्चोकका ३० वर्षीय सुजन रसाईली र ३१ वर्षीय भिमबहादुर तामाङ, ललितपुरको इमाडोल बस्ने ओखलढुंगाका ३६ वर्षीय मुनाराज राई र महाराजगञ्ज बस्ने सिन्धुपाल्चोकका ३८ वर्षीय कृष्णबहादुर बोहोरा रहेका छन् ।

पक्राउ परेकामध्ये बोहोरा सशस्त्र प्रहरी गणनं. २ महाराजगञ्जमा कार्यरत रहेको खुल्न आएको छ । प्रहरीका अनुसार गत मंगलबार दिउँसो १ बजे भक्तपुरको सूर्यविनायक नगरपालिका वडानं. ४, दधिकोट बस्ने ३५ वर्षीय डिल्लीबहादुर राउतको घरमा अपरिचित तीन युवक प्रवेश गरि लुटपाट गरेका थिए ।

उनीहरुले सीआईबी प्रहरी हुँ भनी प्रहरीको परिचयपत्रसहित खुकुरी समेत देखाएर दराजभित्र रहेको दुई करोड रुपैयाँ लुटेर लगेको प्रहरीको भनाइ छ । लुटपाटका मुख्य योजनाकार कुलबहादुर खत्री भने हाल फरार छन् भने प्रहरीका अनुसार खत्री डिल्लीबहादुर राउतका मामा हुन् ।

उनैले वैदेशिक रोजगारको काम गर्ने सिलसिलामा चिनेका सुजनलाई राउतको घरमा धेरै रकम भएको जानकारी गराई लुट्ने योजना बनाएका थिए । लुट्ने योजनाअनुसार घटनाको अघिल्लो दिन खत्रीले सुजनलाई डिल्लीबहादुरको घर देखाई रेकी गर्न लगाएको प्रहरीले बताएकाे छ ।

लुटेराहरूले भक्तपुरको कौशलटारस्थित लाइभ बर्गर एण्ड पिज्जा पोइटमा भेला भई छलफल गरेर घटनास्थलतर्फ लागेको र लुटेर ल्याएको रकम गोकर्णेश्वर नगरपालिका–४, माकलवारीस्थित भिमबहादुरको कोठामा पाँच जनालाई भागबण्ड लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका सुजन यसअघि २०७६ कात्तिक ४ गते सुनजस्तो पहेलो धातु देखाएर ठगी गरेको मुद्दामा र गत वर्षको जेठ ११ गते अभद्र व्यवहारमा कारबाही भोगी छुटेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट ३६ लाख ३५ हजार, घटनामा प्रयोग भएको बा.प्र. ०२–०४०प.५५३८ र बा.प्र.०२–०३३ प ६१७४ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल, मोबाइल दश थान, लुटिएको रकम बोक्न प्रयोग भएको झोला एउटा, लुटपाट गर्दा लगाएको कपडा तथा जुत्ता र खुकुरी एक थान समेत बरामद गरेको बताइएकाे छ ।