Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

इजरायलमा नेपाली केयरगिभर माग, मासिक तलब दुई लाख कमाउने

१२ मंगलबार , असार २०८१२ बर्ष अगाडि

इजरायलमा नेपाली केयरगिभर माग, मासिक तलब दुई लाख कमाउने

इजरायलका दीर्घकालिन स्याहार केन्द्रमा नेपाली सहायक कामदार (केयरगिभर) का लागि आवेदन खुलेको छ । वैदेशिक रोजगार विभागले इजरायल सरकारसँग भएको श्रम सम्झौताबमोजिम इजरायलका दीर्घकालिन स्याहार केन्द्रमा नेपाली सहायक कामदार पठाउन आवेदन मागेको हो ।

विभागले आज सूचना प्रकाशित गर्दै आठ सय जना केयरगिभरका लागि दरखास्त आह्वान गरेको हो । तीमध्ये पाँच सय जना मुख्य उम्मेदवार र तीन सय जना वैकल्पिक उम्मेदवार हुने विभागले जनाएको छ । साथै, महिला ६० प्रतिशत र पुरुष ४० प्रतिशत मागिएको छ ।

इजरायलका दीर्घकालिन स्याहार केन्द्रमा बच्चा, युवा तथा ६५ वर्ष ननाघेका गम्भीर अपांगता भएका व्यक्तिको स्याहार गर्न इच्छुक योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

विभागको वेबसाइटमार्फत आगामी २१ दिनभित्र अनलाइन आवेदन पेश गर्न सकिनेछ । आवेदकको उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । कम्तीमा १.५ मिटर उचाई र ४५ किलोग्राम तौल हुनुपर्छ ।

१० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा १२ कक्षा उत्तीर्ण गरी मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ्गसम्बन्धी तीन महिनाको तालिम लिएको हुनपर्ने सूचनामा उल्लेख छ ।

विभागले आवेदकको पासपोर्ट म्याद समाप्त हुन कम्तीमा तीन वर्ष बाँकी रहेको हुनुपर्ने, विगतमा इजरायलमा गएर काम नगरेको वा परिवार इजरायलमा बसोबास नगरेको र शारिरिक र मानसिक रुपमा स्वस्थ्य रहेको, कुनै प्रकारको जीर्ण रोगबाट ग्रसित नभएको व्यक्तिले आवेदन दिन सक्ने बताएको छ ।

यता, केयरगिभरको मासिक तलब ५ हजार ८ सय ८० सेकेल (इजरायली मुद्रा) हुनेछ । जुन नेपाली रुपैयाँ २ लाख १० हजार हुन आउँछ । केयरगिभरको करार अवधि शुरुमा एक वर्ष हुने र थप गरिएमा पाँच वर्षसम्म हुने विभागले जनाएको छ ।