रौतहटको बौधिमाई नगरपालिका-७ मा झन्डै १५ लाख नगद सहित एकजना पक्राउ परेका छन् । उक्त स्थानबाट सशस्त्र प्रहरीले भारतको पूर्वी चम्पारण जिल्ला मोतिहारी झरोखर-७ जमुनिया बस्ने ३१ वर्षीय गजेन्द्र रायलाई पक्राउ गरेको हो ।
पक्राउ परेका रायको साथबाट सशस्त्र प्रहरीले श्रोत नखुलेको १४ लाख ८० हजार नेपाली रुपैयाँ बरामद गरेको छ । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सरमुजवाले नियन्त्रणमा लिएको बताईएको छ ।
भारतबाट नेपातलर्फ बीआर ०५ बीबी ६२१२ नम्बरको मोटरसाइकलमा आउँदै गरेका उनलाई विशेष सूचनाको आधारमा खटिएकोे सुरक्षा फौजले चेकजाँच गर्दा मोटरसाइकलको सिटमुनी लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा नगद सहित नियन्त्रणमा लिइएको हो । बरामद मोटरसाइकलको भन्सार दाखिला मूल्य दुई लाख रुपैयाँ रहेको छ ।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका उनलाई बरामद नगद तथा मोटरसाइकलसहित आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको बताईएको छ ।