
जेठ २७ गते अछाममा पुलको डोरी चुडिएर पुलमा फसेपछि खच्चडको उद्धारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने दुई प्रहरी पुरस्कृत भएका छन् । प्रहरी सहायक निरीक्षक राम सिंह फराल र प्रहरी हवल्दार गंगाराम चौधरीलाई नगद सहित पुरस्कृत गरिएको हो ।
उनीहरुलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रविन्द्र केसीले पुरस्कृत गरेका थिए । अछाम पुगेका डीआईजी केसीले उनिहरुलाई नगद सहित पुरस्कार प्रदान गरेका थिए ।
डीआईजी केसीले दुवैजना प्रहरीको साहसिक कार्यको प्रशंसा गर्दै अभिलेखमा रहने गरी नगदसहित पुरस्कृत गरेका थिए भने प्रहरीको कर्तव्यपरायणता र साहसको उदाहरण प्रस्तुत गर्न सफल भएकोमा धन्यवाद समेत व्यक्त गरेका छन् ।
डीआईजी केसीले भविष्यमा पनि यस्ता साहसिक कार्य गर्ने प्रहरीलाई सम्मानित गर्ने बताउदै यो पुरस्कारले अन्य प्रहरी कर्मचारीहरूलाई पनि प्रेरणा मिल्ने अपेक्षा गरिएको बताएका छन् ।