Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चिकित्सा शिक्षा आयोगको निर्देशक नियुक्ति प्रक्रिया अघि बढ्यो

०६ बुधबार , असार २०८१४ महिना अगाडि

चिकित्सा शिक्षा आयोगको निर्देशक नियुक्ति प्रक्रिया अघि बढ्यो

चिकित्सा शिक्षा आयोगको निर्देशक नियुक्ति प्रक्रिया अघि बढेको छ । मुद्दा मामिलाका कारण अन्योलमा परेको आयोगको रिक्त चार निर्देशक नियुक्तिको प्रक्रिया अघि बढेको हो । निर्देशक सिफारिस गर्न गठित समितिले आज सूचना प्रकाशित गर्दै यसअघि सर्ट लिस्टमा परेका १२ जनालाई प्रस्तुतीकरण र अन्तवार्ताका लागि बोलाएको छ ।

त्यसका लागि राष्ट्रिय योजना आयोगमा यही असार ८ गतेको समय तालिका समेत निर्धारण गरिएको छ । यसअघि सर्ट लिस्टमा परेकाहरुमा बाग्लुङका डा.कृष्णसागर शर्मा, मोरङका प्रा.डा.गुरुप्रसाद खनाल, रुपन्देहीका प्रा.डा. दिपेशकुमार लम्साल, दार्चुलाका डा. भिमसिंह तिंकारी, ललितपुरकी प्रा.डा. वन्दना गुरुङ शर्मा, चितवनका डा. विजयचन्द्र आचार्य रहेका छन् ।

त्यस्तै, ललितपुरकी प्रा.डा. सरला श्रेष्ठ, गोरखाका प्रा.डा. सुजनबाबु मरहठ्ठा, भक्तपुरका प्रा.डा. सुदिप आचार्य, काठमाडौंका प्रा.डा. सुरज बज्राचार्य, कास्कीका प्रा.डा. स्वयं प्रकाश पण्डित र पाल्पाका हरिप्रसाद बस्यालको नाम पनि सर्ट लिस्टमा छ ।

चिकित्सा शिक्षा आयोगमा रिक्त चार निर्देशक पदमा नियुक्तिका लागि गत मंसिर ६ गते दरखास्त आह्वान गरिएको थियो । निर्देशक सिफारिस समितिले मंसिर १६ गते दरखास्त दिएका २० जनामध्ये एक दर्जनको सर्ट लिस्ट सार्वजनिक गरेको थियो ।

त्यसप्रति चित्त नबुझेपछि उच्च अदालत पाटनमा रिट दर्ता गरिएकोमा अदालतले मंसिर २१ गते अन्तवार्ता, परीक्षाफल र नियुक्तिलगायतका कारबाही यथास्थितिमा राख्न भनी अन्तरिम आदेश जारी गरेको थियो । 

उच्च अदालतको गत जेठ १३ गतेको फैसलाबाट रिट निवेदन खारेज हुने ठहर्छ भनी आदेश भएको र सोको पत्र समेत आइसकेकोले निर्देशक नियुक्तिको प्रक्रिया अघि बढाइएको समितिको सूचनामा उल्लेख गरिएको छ ।