Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

अवैध संरचना हटाउन इटहरी उपमहानगरपालिकाकाे निर्देशन

३० बुधबार , जेठ २०८१४ महिना अगाडि

अवैध संरचना हटाउन इटहरी उपमहानगरपालिकाकाे निर्देशन

सुनसरीको इटहरी उपमहानगरपालिकाले खेती खोलामा बनेको अवैध संरचना हटाउन निर्देशनयुक्त चेतावनी दिएको छ । उपमहानगरपालिकाले एक सूचना प्रकाशित गर्दै खोला अतिक्रमण गरेर बनाइएका संरचना आगामी १५ दिनभित्र हटाउन भनेको हो । अन्यथा, आफैं त्यस्ता संरचना भत्काउन बाध्य हुने उपमहानगरको चेतावनी छ ।

यसअघि गत वैशाख २५ गते पनि उपमहानगरपालिकाले सूचना जारी गर्दै ३५ दिनभित्र खोला क्षेत्राधिकारमा बनाइएका भवन तथा संरचना हटाउन अनुरोध गरेको थियो । तर, उक्त समय समाप्त भएपनि संरचना नहटाइएको उपमहानगरपालिकाले जनाएको छ ।

‘खेती खोलामा कानून विपरीत निर्माण भएका अनाधिकृत संरचना हटाउन मिति २०८१/०१/२५ गते पहिलो पटक ३५ दिने सूचना जारी गरिएकोमा सो मिति २०८१/०२/२९ गते समाप्त भएको तर तोकिएका भवन संरचना नहटाइएको हुँदा पुनः दोस्रो पटक १५ दिन (मिति २०८१/०३/१२ गतेसम्म) को समय थप गरिएको छ,’ सूचनामा भनिएको छ ।

उपमहानगरले थप भएको समयभित्र त्यस्ता भवन तथा संरचना अनिवार्य रुपमा हटाउन अनुरोध गर्दै अटेरी गरेमा प्रचलित कानूनबमोजिम आफैंले भत्काउने र भत्काउँदा लाग्ने खर्च समेत सम्बन्धित व्यक्ति अथवा संस्थाबाट असुल उपर गर्ने बताएको छ ।

उपमहानगरपालिकाले ‘थप भएको समयभित्र उल्लेखित प्रकृतिका भवन संरचना अनिवार्य रुपमा हटाइसक्नु पर्नेछ । अन्यथा, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १ र १३, पालिकाको कार्यपालिका बैठक निर्णय तथा अन्य भवन संरचना निर्माणसम्बन्धी प्रचलित कानूनअनुरुप इटहरी उपमहानगरपालिका आफैंले त्यस्ता भवन संरचना भत्काउने छ । र, त्यस्ता भवन संरचना भत्काउँदा लाग्ने खर्च समेत सम्बन्धित व्यक्ति सस्थाबाट नै असुल उपर गरिने जानकारी गराइन्छ,’ भनेको छ ।