
संखुवासभामा गएरातिको अविरल वर्षापछि खसेको पहिरोमा परी एक जनाको मृत्यु भएको छ । चिचिला गाउँपालिका-३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको हो ।
पहिरोमा परि अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त पहिरोमा परि मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका छन् ।
मङ्गलबार राति उनीहरु निदाएको बेला अविरल वर्षापछि पहिरो खसेको थियो । जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा पुरिएको प्रहरीको भना छ ।
अहिले देशको मध्य र पश्चिम भेगमा गर्मी बढिरहेको छ भने पूर्वी भागमा मनसुनको प्रभाव सुरु भएको छ । यता जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यका, पश्चिमका पहाडी र तराई भूभागमा अझै केही दिन गर्मि बढ्ने अनुमान गरिएको छ ।


