Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

सामाजिक सञ्जाल व्यवस्थित गर्न बलियो पत्रकारिता हुनैपर्छ : सरोकारवाला

२३ बुधबार , जेठ २०८१२ बर्ष अगाडि

सामाजिक सञ्जाल व्यवस्थित गर्न बलियो पत्रकारिता हुनैपर्छ : सरोकारवाला

पत्रकारिता क्षेत्रका सरोकारवालाले सामाजिक सञ्जालका कारण निम्तिएको समस्या व्यवस्थापन गर्न पत्रकारिता क्षेत्र बलियो हुनैपर्ने बताएका छन् । हालै रसुवामा भएको एक कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार किशोर नेपालले सामाजिक सञ्जाल र सूचना प्रविधिको विकासले पारेको प्रभावलाई जिम्मेवारीपूर्ण ढङ्गले व्यवस्थापन गर्ने माध्यम नै पत्रकारिता भएको उल्लेख गर्नुभयो ।

पत्रकारिताजगत्ले विश्वसनीय सूचना र खोजमूलक समाचारको सम्प्रेषण जतिसक्दो प्रभावकारी बनाउन सक्छ त्यति नै सूचना प्रविधिको नकारात्मक प्रभाव कम हुँदै जाने उहाँको भनाइ थियो । जिम्मेवारीपूर्ण ढङ्गले सूचना सम्प्रेषणको माध्यमबाट समाज परिवर्तनमा पत्रकारहरूले व्यवसायिक पत्रकारिताको बाटोबाट नै योगदान दिनुपर्ने भन्दै उहाँले नेपालमा सूचना प्रविधिको नकारात्मक असर रोक्न सरकारले सूचनासँग डील गर्ने सामर्थ्य राख्नुपर्ने बताउनुभयो।

यस्तै व्यावसायिक पत्रकारिता अध्ययन केन्द्रका कार्यकारी अध्यक्ष रुचि श्रेष्ठले सामाजिक सञ्जालले निम्त्याएको समस्या समाधानमा मुख्य भूमिका पत्रकारकै हुनेमा जोड दिनुभयो । व्यावसायिक पत्रकारिता क्षेत्रले सामाजिक सञ्जाल प्रयोगमा ध्यान दिएर यसको बढ्दो प्रभावकारिता आत्मसाथ गर्नुपर्ने र सत्य तथ्य सूचना सम्प्रेषणको माध्यमबाट गलत र भ्रामक खबरको फैलावट रोक्न सक्नुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ रसुवा शाखाले गरेको सूचना प्रविधिको विकास सम्बन्धी विचार गोष्ठीमा नेपाल पत्रकार महासङ्घका पूर्व सभापति एवं वरिष्ठ पत्रकार किशोर नेपालको प्रमुख आतिथ्य रहेको थियो । 

महासङ्घ रसुवाका अध्यक्ष केशव पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कालिका गाउँपालिका रसुवाका अध्यक्ष हरिकृष्ण देवकोटा, नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सहसचिव माधव लामिछानेलगायत रसुवाका शिक्षक पत्रकार तथा स्थानीयको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीले सूचना प्रविधिको विकासले ल्याएका समस्या र सम्भावनाहरूको बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।