Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

काठमाडौँ बाहिरकाले पनि उपत्यकाबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न पाउने

२१ सोमबार , जेठ २०८१२ बर्ष अगाडि

काठमाडौँ बाहिरकाले पनि उपत्यकाबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न पाउने

हाल काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका बाहिरी जिल्लाका नागरिकहरूले पनि काठमाडौँ उपत्यकाबाटै राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न पाउने भएका छन् । काठमाडौँ उपत्यका बाहिर स्थायी ठेगाना भई हाल काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएकाहरूले अब काठमाडौँका विभिन्न स्थानबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न पाउने व्यवस्था मिलाइएको हो ।

काठमाडौँ उपत्यकामा आजदेखि यो व्यवस्था लागू गरिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । विभागकाअनुसार नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा काठमाडौँ, भक्तपुर र ललितपुर बाहेकका जिल्लामा स्थायी बसोबास भएका सेवाग्राही र राष्ट्रिय सभा गृहमा काठमाडौँ महानगरपालिकाका सेवाग्राहीहरूले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराउन सक्ने छन् ।

काठमाडौँ जिल्लाको विभिन्न स्थानीय तहको परिचयपत्र वितरण अभियानमार्फत परिचयपत्र लिन छुटेका सेवाग्राहीहरूले नारायणहिटी दरबार सङ्ग्रहालय परिसरबाट आफ्नो परिचयपत्र लिन पनि विभागले अनुरोध गरेको छ । राष्ट्रिय परिचयपत्रको विवरण दर्ताका लागि नागरिकता प्रमाणपत्रको सक्कल, बसाई सरी आएकाको हकमा बसाई सराई प्रमाणपत्रको सक्कल र विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्र आवश्यक पर्ने छ ।

विभागकाअनुसार हाल देश भरिका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरू, एक सीमा प्रशासन कार्यालय, ५४ वटा इलाका प्रशासन कार्यालय तथा विवरण दर्ता अभियान सञ्चालन भइरहेका स्थानहरूबाट राष्ट्रिय परिचयपत्रको विवरण प्रविष्ट गर्ने कार्य भई रहेको बताईएको छ ।