Advertisement Banner
Advertisement Banner

१४ बिहिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

स्वास्थ्य मन्त्रीद्धारा प्रसूति गृहको नयाँ भवन सञ्चालन गर्न निर्देशन

२१ सोमबार , जेठ २०८१२ बर्ष अगाडि

स्वास्थ्य मन्त्रीद्धारा प्रसूति गृहको नयाँ भवन सञ्चालन गर्न निर्देशन

प्रसूति तथा स्त्री रोग अस्पतालको कुपण्डोलस्थित नयाँ भवन यथाशीघ्र सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले निर्देशन दिएका छन् । मन्त्री यादवले स्वास्थ्य मन्त्रालयका पदाधिकारीको टोलीसहित प्रसूति गृहको अनुगमन गर्दै नयाँ भवन पूर्णरुपमा सञ्चालन गर्न निर्देशन दिएका हुन् ।

मन्त्री यादवले नयाँ भवन पूर्णरुपमा सञ्चालन गर्न, शौचालयको राम्रो व्यवस्थापन गर्न, आउटरिच क्लिनिकको सेवा बढाउने लगायत निर्देशन दिँदै मन्त्रालयको तर्फबाट सहयोगको प्रतिबद्धता गरेको बताईएको छ । साथै, मन्त्री यादवले बच्चाहरूको शल्यक्रियाका लागि कान्ति बाल अस्पतालसँग शय्याका लागि समन्वय गर्न पहल गर्ने समेत उल्लेख गरेका छन् ।

प्रसूतिगृहको कुपण्डोलमा बनेको नयाँ भवनको गत फागुन २ गते उद्घाटन भइसकेको छ भने उक्त भवनमा ओपिडी सेवा, सुरक्षित गर्भपतन सेवा पाठेघरको क्यान्सरको जाँच, पिसाब चुहिने समस्या, टेष्टट्युव बेबीलगायतका सेवा प्रवाह हुने बताईएको छ । प्रसूति गृहको अनुगमनमा पुगेका मन्त्री यादवले पोस्ट न्याटल वार्ड, स्पेसल बेबी केयर युनिट, नवजात शिशु कक्ष, एनआइसियु, ह्युमन मिल्क बैँक कक्षहरू अनुगमन गरेका थिए ।

मन्त्रीसमक्ष नर्स इन्दिरा ढुङ्गेलले नर्सिङ जनशक्तिको अभाव भएका कारण दुई जना नर्सले ५२ जना आमाको हेरचाह गर्नुपरेको बताउँदै दरबन्दी बढाउन माग गरेको बताईएको छ । उक्त अस्पतालको ओपिडीमा हाल दैनिक ८ सयदेखि १ हजारसम्मले सेवा लिने गरेका छन् ।