Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँ : अध्यक्ष बस्नेत

२० आइतबार , जेठ २०८१२ बर्ष अगाडि

मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँ : अध्यक्ष बस्नेत

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मिथ्या र भ्रामक सामग्रीलाई सञ्चारमाध्यमले समाचारका रुपमा पस्कन नहुनेतर्फ सबैको ध्यानाकर्षण गराउनुभएको छ ।

मिथ्या सामग्रीलाई गोलमटोल रुपमा पस्किँदा आम जनमानसलाई भ्रम परेको र त्यसले सञ्चार माध्यमको विश्वसनीयतामै धक्का लागेकोतर्फ सबै सचेत हुनुपर्ने उहाँको धारणा थियो ।

युट्युब व्यवस्थापनका सन्दर्भमा काउन्सिलले आइतबार आयोजना गरेको आचारसंहिता अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष बस्नेतले झारा टार्ने ढंगले कसैले पनि पत्रकारिता गर्न नहुने सुझाउनुभयो। 'मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँ। माध्यम जुनसुकै होस् तर अहिलेको खाँचो भनेको परिपक्व पत्रकारिताको हो । त्यसका लागि विवादरहित, जवाफदेही र जिम्मेवार भएर काम गर्नुपर्छ । अरुलाई प्रश्न मात्र उठाउने काम त सबैले गर्न सक्छ' अध्यक्ष बस्नेतको भनाइ थियो ।  

उहाँले अहिले युट्युबका कतिपय माध्यममा झारा टार्ने प्रवृत्ति देखिएको र त्यसले पत्रकारिताको पेसागत मूल्यमान्यतामाथि प्रश्न उठाउने काम गरेको बताउनुभयो । अहिलेको पत्रकारिता गाली बेइज्जतीकेन्द्रित भएकोमा चिन्तासमेत व्यक्त गर्दै उहाँले स्वस्थ र विवादरहित पत्रकारिता गरियो भने मात्र पेसागत मर्यादा कायम रहने बताउनुभयो ।

युट्युबमार्फत भइरहेको पत्रकारिता राम्रो हुन सके युट्युबकै गरिमा बढ्ने हुँदा पत्रकार आचारसंहिता र मर्यादाको ख्याल गर्न युट्युब सञ्चालकलाई उहाँको अनुरोध थियो । "हामीले राम्रो गरेनौँ भने यो क्षेत्र पनि कहिल्यै राम्रो हुँदैन, हाम्रो पेसालाई कसैले राम्रो पनि भन्दैन, कस्तो गर्ने भन्ने हाम्रै हातमा छ, त्यसैले युट्युबमार्फत पत्रकारिता गर्ने हो भने यसको मर्यादामा रहनैपर्छ । मर्यादाभन्दा बाहिर गएपछि त्यो पत्रकारिता रहँदैन ।” उहाँले भन्नुभयो । प्रेस काउन्सिल नेपालले युट्युबमार्फत् सञ्चारकर्म गरिरहेका तर पत्रकार आचारसंहिताको पालनामा कमजोर देखिएका युट्युब सञ्चालकका लागि अभिमुखीकरण कार्यक्रम गर्दै आएको छ । आइतबार भएको चौथो श्रृङ्खलामा अध्यक्ष बस्नेत, सञ्चार विज्ञ डा. भानुभक्त आचार्य र प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यपत्र प्रस्तुत गर्दै सञ्चार विज्ञ डा. आचार्यले पत्रकारिता क्षेत्र विश्वसनीय र परिणाममुखी बनाउन पत्रकारले फिल्टर गरेर समाचार दिनुपर्ने र त्यसमा प्रेस काउन्सिलको सशक्त उपस्थिति रहनुपर्ने बताउनुभयो । युट्युबका माध्यमबाट हुने गरेको पत्रकारिताले सामाजिक उत्तरदायित्व बहन नगरेको औँल्याउदै उहाँले समाचार दिने बेलामा नै पाठकलाई भ्रम छर्ने, गलत दिशानिर्देश गर्ने र समाजमा अपाच्य हुने विषयलाई फिल्टर गरेर दिन सक्नुपर्ने उल्लेख गर्नुभयो । १३० वर्ष पुरानो छापा माध्यमबाट सुरु भएको पित पत्रकारिताको अभ्यास अहिले डिजिटल माध्यमबाट भइरहेको भन्दै उहाँले यस्तो पत्रकारिता विश्वका कुनै पनि मुलुकका लागि उपयुक्त नहुने बताउनुभयो ।

कार्यपत्र प्रस्तुत गर्दै काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत खनालले युट्युबको व्यवस्थापनका लागि काउन्सिलले गरेका पहल र त्यसको प्रगतिबारे जानकारी दिनुभएको थियो ।

युट्युब व्यवस्थापनका लागि काउन्सिलले गरिरहेको अभिमुखीकरण कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले युट्युबमार्फत पत्रकारिता गर्न चाहनेका लागि काउन्सिलले मार्गनिर्देश गर्नु दायित्व रहेको उल्लेख गर्नुभयो । त्यस्ता माध्यमलाई अभिलेख र दर्ता/सूचीकरण प्रक्रियामा लैजाने र वैधानिक रूपमा पत्रकारिता कर्मका लागि प्रेरित गर्न काउन्सिलले काम गरिरहेको बताउनुभयो ।

विभिन्न युट्युबका ३० जना सञ्चालक/सम्पादकको सहभागिता रहेको कार्यक्रम काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले सहजीकरण गर्नुभएको थियो ।