यस्तै छ प्रचण्डको मनोदशा। प्रचण्डको भन्दा भिन्न छैन बाबुरामको अनुहार र हावभाव अनि उनका हच्केको, डराएकोजस्ता प्रतिक्रियाहरु एउटा होनहार हुन हुन लागेको नेता कसरी ख्यातिको शिखरमा पुग्छ र नेतामा हुनुपर्ने दूरदर्शिता गुमाउँदा ओह्रालोयात्रा लाग्छ भन्ने दृष्टान्त बन्नपुगेका छन् प्रचण्ड र बाबुराम। प्रचण्ड, बाबुरामको मुहार कालोनिलो, निन्याउरो, अँध्यारो देखिन्छ आजकल। माघ ५ गते राति संविधानसभामा कुनै बोल्डनेस, उत्साह नभएको ओइलाएको फूलजस्तो थियो प्रचण्ड, बाबुरामको मुहार, १२ गतेसम्म पनि ताजगीपन आउन सकेको छैन। किन? प्रचण्ड र बाबुरामलाई यसरी आत्मपीडाबोध गर्नुपर्ने स्थितिमा कसले पुर्यायो। पहिले उनका शक्तिहरु चुँडिए, एक माओवादी ५ टुक्रा बने। अव रुन्चे भएर भाग्ने कांग्रेस, एमाले भाले पल्टिएका छन्, ओलीले त 'बन्द, हड्ताल गर्नेलाई आतंककारी मानेर कारवाही गर्नुपर्छ' सम्म भनिसके। 'एमालेलाई नजिस्क्याउ, निकै महगो पर्ला' पछिल्लो धमास दिएका छन् ओलीले। आफैले प्रधानमन्त्री बनाएका माधव नेपाल र झलनाथ खनालसमेत यतिखेर प्रचण्डलाई 'खुच्चिङ'को भाषा बोलिरहेका छन्। शायद आफ्नो राजनीतिक शक्ति क्षीण भएकाले भित्रभित्रै पोलिएका हुन् प्रचण्ड र त्यसको छायाँ मुहारमा प्रतिविम्बित भएको हुनुपर्छ भन्छन् विश्लेषकहरु। प्रचण्ड सडकमा आफ्ना कुनै आन्तरिक कुरा सार्वजनिक गरिरहेका छैनन् तर उनलाई कसैले फोनबाट गाइड गरिरहेको छ र मौका कुमौका खिसिक्क हँसाइरहेको छ। फेरि प्रचण्डका अनुहार मलिन भइहाल्छ। प्रचण्डभित्र कुन त्यस्तो आँधी छ, जसले उनलाई नै अत्याइरहेको छ। बत्याइरहेको छ। र, पीडित पारिरहेको छ।
अझै बिग्रेको केही छैन। मात्र जातीय पहिचान बोक्दा प्रचण्ड समाजमा एकपक्षीय बन्दै गएका हुन्। जुन कारणले पहिलो संविधानसभा बिघटन हुनगयो र दोस्रो निर्वाचनमा समेत हार बेहोर्नुपर्यो, त्यही रोगलाई प्रचण्ड बोक्न किन बाध्य छन्? रोग हो भनेर थाहा पाइसकेपछि जातिवादको धोक्रो बिसाउन उनी किन सक्दैनन्? के जातिवाद नभए प्रचण्ड प्रचण्ड रहदैनन्? प्रचण्डको पहिलोवाद नेपालवाद हुनुपर्थ्यो, नेपालवाद बोक्ने हिम्मत प्रचण्डले किन गरेनन्? नेपालवाद बोक्दा उनको नेतृत्वमाथि संकट पर्छ? नेपालवाद बोक्न नसक्ने नेता जातिवादी हुन्छ, संकीर्ण हुन्छ, राजनेता हुनसक्दैन भन्ने बुझेका छैनन् र प्रचण्डले? तथापि प्रचण्ड आफैभित्र घुटघुटिरहेका छन्। पिल्सिरहेका छन्। आज प्रचण्डलाई त्यो पिल्साइबाट राहत दिनसक्ने सहयोगी पनि अभाव भएको देखिदैछ एमाओवादीमा।
र, बाबुरामले संविधानसभालाई नयाँ महाभारतको संज्ञा दिएका छन् र सभाध्यक्ष सुवास नेम्वाङलाई सत्ताधारी दलको शिखण्डी बनेको आरोप लगाइरहेका छन्। बाबुरामको प्रतिक्रिया यस्तो छ: नयाँ महाभारतमा माओवादी–मधेशवादी, जनजातिलाई ढाल्न ठूला मिडिया र सामाजिक सञ्जालमा अनर्गल प्रचार गरिएको छ। पुरानो महाभारतमा द्रोणाचार्यलाई ढाल्न अशोस्थामा हतोहतको झूठो हल्ला पिटिएको थियो, भीष्मलाई ढाल्न सिखण्डीको प्रयोग गरिएको थियो। त्यस्तै शान्ति सम्झौताको आधा हिस्सा रहेको एमाओवादी र विभिन्न सम्झौताका शक्तिहरुको पूरै विरोधका वीचमा एकपक्षीय निर्णय र्दा कसरी लोकतान्त्रिक अभ्यास मानिदो रहेछ?