
कोरोना महामारीका कारण २०७६ सालदेखि बन्द भएको दार्चुलाको तिंकर नाका सञ्चालनमा आउने भएको छ । आउदो असार ११ गतेदेखि चीनको तिब्बतसँग जोडिएको तिंकर नाका सञ्चालनमा आउने भएको हो ।
असार ११ गतेदेखि दार्चुलाको तिंकर नाका सञ्चालनमा आउने दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिएका छन् । चीनको तिब्बत (बुराङकाउन्टी)का जनप्रतिनिधि, सुरक्षा अधिकारी र नेपालका तर्फबाट दार्चुलाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरूसँग आज भएको दुईपक्षीय कुराकानी पछि असार ११ गतेदेखि तिंकर नाका सञ्चालनमा आउन लागेको बताईएको छ ।
सुरक्षा निकायका प्रमुखहरूले चिनियाँ सुरक्षा अधिकारीसँग सामाजिक सञ्जाल (वीच्याट) बाट नाका सञ्चालन गर्ने विषयमा कुराकानी गरेको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिएका छन् । कोरोना सङ्क्रमणका कारण बन्द भएको नाका खुल्ने भएपछी स्थानीयले खुसि व्यक्त गरेका छन् ।


