Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

समानताको लागि ल्याइएको गणतन्त्रमा असमान नीति !

१५ मंगलबार , जेठ २०८१५ महिना अगाडि

समानताको लागि ल्याइएको गणतन्त्रमा असमान नीति !

मुक्तिका लागि दुई हजार सात सालदेखि विभिन्न मोर्चाबन्दी सडक संघर्षदेखि जनयुद्ध जनआन्दोलन हुँदै संघीय गणतन्त्रसम्म हजारौं हजार महान योद्धाको रगत बगेको छ, पसिना बगेको छ, आँशु बगेको छ ।

दर्जनौं घरपरिवार अहिले पनि आफ्नो बेपत्ता परिवारको सम्झनामा शोकाकुल छन । लाखौं युवायुवती बेरोजगार भएर परिवारको सानो खुसीको लागि खाडीको तातो मरुभूमिमा चिसो वालुवा चाल्दै छन् । दैनिक एकपछि अर्को गर्दै विदेशी भूमिबाट अन्तर्राष्ट्रिय एअरपोर्टमा लासहरुको रास लागेको छ ।

देशकै राजधानी मानिने काठमाडौंको शहरमा दिँउसै हत्याहिंसा, मानव बेचबिखन, लुटपाट, ठगीधन्दा चल्छ । लोकतन्त्रको नाममा सत्ताको पहुँचमा पुगेका ठूला नेता भनिने विदेशी दलाल र एउटा घरमा भएको बफादार कुकुरजस्तै तिनका बफादार कार्यकर्ताहरुले नै लुटतन्त्र मच्चाइरहेका छन् ।

नेपालको कुनै पनि सरकारी स्कुलमा गुणस्तरीय शिक्षा छैन् । न कुनै सरकारी हस्पिटल र स्वास्थ्य चौकीमा आवश्यक औषधी छ न भरपर्दो दक्ष जनशक्ति स्वास्थ्यकर्मी । सरकारी सेवामा इमान्दारिताको खडेरी लाग्दै गएको छ । हरेक क्षेत्रमा घुसतन्त्र मौलाएको छ । स्वास्थ्यकर्मीका नाममा मेडिकल माफियाहरुको रजगज चलेको छ । सरकारी तलब र भत्ता खाएर सरकारी विद्यालयका शिक्षकहरु आफ्ना छोराछोरी मँहगो प्राइभेट स्कुल भर्ना गरेर गरिबका छोराछोरी अल्मलाइरहेका छन् ।

सबैले धकेल्दा धकेलिने गरिबको एक ठेला छ 
राजनीति राजकाजमा भुस्याहा कुकुरको भेला छ 
एउटै कुरा कसैलाई संवैधानिक कसैलाई असंवैधानिक 
थुक्क फिल्डमा हेर्दा पनि दुरुस्तै अनुहारको चेला छ
माथिको हिमाल पहाड तलको तराई कहीँ देखिन
सधैं मिठा भाषण उपलब्धि कुन समय कुन बेला छ  
पुराना राजाले देखे न  अहिलेका महाराजाले देखे 
दुर्भाग्य गरिखाने वर्ग जन्मेदेखि मर्दासम्म हेला छ 
विकास प्रेमी  भन्नेहरु पाँच वर्ष कहाँ हराए हराए 
चुनाव आएर होला गाउँमा तिनै मुखियाको मेला छ

सिंहदरबार गाउँगाउँमा छ तर त्यो सिंहदरबारमा प्रायः श्रमजीवी श्रमिकको रगत र पसिना चुसेर डम्म परेको मानव रुपी दानव सिंह भएर जनप्रतिनिधिको रुपमा जन्म पाएका छन् । ‘दुधको हेरालो बिरालो’ भनेजस्तै तिनै लुट्न जानेका ढाँट्न जानेका विकासको नाममा शिलान्यास र उद्घाटनको नाममा राँगा खसी बोका काट्न जानेका सरकारी बजेट कहाँ–कहाँ के कति कुन–कुन शीर्षकमा निकासा गरी खल्तीमा हाल्न सकिन्छ भनेर अगाडि देखि नै राम्रो ज्ञान र सीप भएका छन् ।

तिनीहरुलाई थाहा छैन् चुहिने छानो भित्रको बास कस्तो हुन्छ । तिनीहरुलाई थाहा छैन् बिहानको छाक खाए बेलुका के खाने, बेलुका खाए बिहान के खाने चिन्ता गर्ने परिवारको भान्सा कस्तो हुन्छ । तिनीहरुलाई थाहा छैन् दिनभरि साहुको काम गरेर बिहान–बेलुका छाक टार्नेको मजदुरी । तिनीहरुलाई थाहा छैन् आफ्नो परिवार र सन्तानको भविष्य सुनिश्चित गर्नको लागि अर्काको देशमा गएर १४ घण्टा १८ घण्टा अत्याधुनिक मेसिनमा रोबर्ट जसरी काम गरेर पसिना खलखल बगाउनेको वास्तविक कथा । त्यसैले यी सबै व्यर्थै लाग्छ । जो गरी खाने वर्गको लागि यी सबै तन्त्र किमार्थ छन्  ।

मलाई लाग्छ जबसम्म मजदुर किसान वर्गको सम्मान हुँदैन् तबसम्म हाम्रो देश विकास हुनै सक्दैन । त्यस्तै, अस्थिर राजनीति स्थिरतातर्फ जाँदैन तबसम्म विदेशीको अखण्डा नेपाल बनिरहनेछ । देश भाषण र नारामा मात्र समृद्धि कायम रहने छ । गणतन्त्र, मौलिक स्वतन्त्रता, धर्म निरपेक्षता, समानता, सार्वभौमसत्ता जनतामा निहित यी सबै कुरा कागजमा मात्र सीमित हुनेछ ।

यसलाई रक्षा गर्न हिजो विभिन्न कालखण्डमा भएका घटनाको सम्मान गर्दै सबै उपलब्धिलाई संस्थागत गरेर कार्यान्वयनतर्फ लैजानुपर्छ । देशको कार्यकारी प्रमुख जनताबाट प्रत्यक्ष निर्वाचन हुनपर्छ । अस्वभाविक तवरबाट राज्यको सम्पत्तिमा गिद्देनजर राख्ने, समाजमा जघन्य अपराध गर्ने, संविधानको धारा–उपधारा परिमार्जन गरी त्यस्ता व्यक्तिलाई फाँसी दिनुपर्छ ।

यसले अपराध न्यूनिकरण हुनुका साथै राज्यको करोडौं रुपैयाँ सञ्चिति हुन्छ । मुलुकभरको सडक, यातायात, हवाई क्षेत्र सरकारको अधिनमा हुनुपर्छ । आधुनिक शिक्षा, आवश्यक अधिकत्तम स्वास्थ्य र रोजगारीको सरकारले ग्यारेन्टी गर्नुपर्छ । देशमा सबैखाले सिन्डिकेट पूर्ण रुपमा अन्त्य हुनुपर्छ ।

यो अहिलेकै पुराना राजाको जुठो खाएर हुर्केकाहरुबाट बिल्कुलै सम्भव छैन् । शासन सत्ताको नजिक रहेकाहरुले आफू अनुकुल समान गणतन्त्रमा असमान नीति बनाएका छन । हिजो एक सक्कली राजाले गरेको सक्कली शासन २०८१ जेठ १५ गतेसम्म पनि ठ्याक्कै त्यस्तै हजारौ नक्कली राजाहरुले नक्कली शासन गरिरहेका छन् ।

समाजवाद उन्मुख नेपालको संविधानले परिकल्पना गरेकोभन्दा ठ्याक्कै उल्टो दिशामा देश अगाडि बढिरहेको छ । मुलुकमा पुराना सामन्तवादका केही अवशेषहरुले गणतन्त्र, संघीयता राज्यको सबै अंगमा समानुपातिक समावेशीजस्ता धेरै लामो समय नेपाली जनताको संघर्ष पछिका उपलब्धिलाई गलत ब्याख्या गर्न खोजेका छन् ।

यसले अहिले तत्काल नभए पनि परन्तुमा हानी पुर्याउँछ । त्यसैले यस्ता अवशेषहरुलाई बेलैमा निमिट्यान्न पार्नु बुद्धिमानी हुनेछ । देशभर शान्तिको आभास गराउनु राज्यको दायित्व र जिम्मेवारी हो । यसको लागि सबैभन्दा पहिला भारतसँगको खुल्ला नाका बन्द गर्नु अति आवश्यक छ । सीमानामा काँडेतार लगाउनुपर्छ । देशभित्रको अपराध कम गर्न राज्यको सम्बन्धित निकायले मापदण्ड बनाउनुपर्छ ।

समाजवादको यात्रामा मुलुक निकै पछाडि परेकाले जनता आफ्नो ठाउँबाट जतिसक्दो चाँडो जुर्मुराउनुपर्छ । अन्तिममा गणतन्त्र र समाजवाद उन्मुख नेपालको संविधान कार्यान्वयनमा भएका केही कमीकमजोरी सच्याएर देशलाई आर्थिक उन्नति प्रगतिको दिशामा लैजान सबै वामपन्थी परिवर्तनकामीहरु एक हुनुपर्छ । गणतन्त्र प्राप्तिका लागि रगतपसिना बगाएका नेपाली आमाका होनहार योद्दाप्रति सम्मान प्रकट गर्दै मेरो व्यक्तिगत तर्फबाट १७ औं गणतन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु ।