Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मिथ्या सूचनाको महामारी झन झन बढ्यो

१५ मंगलबार , जेठ २०८१५ महिना अगाडि

मिथ्या सूचनाको महामारी झन झन बढ्यो

मिथ्या सूचनाको जालो झन झन बाक्लिदै गएको छ । मिथ्या सुचनाका कारणले राज्यसञ्जाल ग्रस्त छ, जसले गर्दा आमनागरिकमा समेत दुस्प्रभाव पर्दै गएको छ । यो जालोलाई तोड्ने कसरी ? यो विषय झन झन गम्भीर बन्दै गएको छ । कुन सूचना सही र कुन गलत छुट्याउन नसकिने हुनथालेको छ । देशमा घटेका अनेक भ्रष्टाचार र कनुनी प्रश्नहरूसमेत मिथ्या सूचनाका कारण जेलिदै गएका छन् । सही सूचनामाथि अन्याय बढी हुनथालेका छन् । सुशासनका लागि मिथ्या सूचना ठूलो चुनौती बन्दै गएको छ । यसका लागि हरेक क्षेत्र जिम्मेवार देखिन्छन् ।
हिन्दु संस्कृतिको अनुपम धार्मिक, पौराणिक, ऐतिहासिक तथा दार्शनिक ग्रन्थ  महाभारतको कथामा सूचनाको प्रभावबारे यसरी ब्याख्या गरिएको छ । कौरव र पाण्डववीच घनघोर युद्ध भइरहेको थियो । अस्त्रका अद्भूत क्षमतावान गुरू द्रोणाचार्य कौरवको पक्षमा हुन्जेल युद्धको अन्त्य हुँदैन, पाण्डवले युद्ध जित्न सक्ने छैनन् भन्ने बुझेका पाण्डव पक्षका भगवान श्रीकृष्णले धर्मराज युधिष्ठिरलाई भन्न लगाए– ‘सत्यवादी’ युधिष्ठिरले चिच्याएको कर्कश स्वरमा ‘नरो वा कुंजरो वा अश्वत्थामा हतोहत’ (मान्छे वा हात्ती कुन् हो, तर अस्वत्थामा म¥यो) । शंखध्वनी र युद्धको आवाजका कारण गुरू द्रोणाचार्यले अश्वस्थामा मरेको भन्ने मात्र सुने । धर्मराज युधिष्ठिरकै आवाजमा आफ्नो छोरो अश्वस्थामा मारिएको बुझेर द्रोणाचार्य मूर्छित हुनपुगे । यही मौका पारेर पाण्डव सेनाका धृष्ठधुम्नले द्रोणाचार्यको शिर छेदन गरिदिए । यसपछि पाण्डव सेनाले रणभूमि कब्जा गर्न सफल भए । अर्थात मिथ्या समाचार कति घातक हुन्छ भन्ने यो पौराणिक उदाहरण हो । जुन जान्न जरूरी छ ।
आधुनिक युगमा त राजनीतिक र कूटनीतिक बृत्तमा आआफ्ना मुलुकका स्वार्थका लागि सत्यभन्दा बढी अर्धसत्य, भ्रामक सूचना फैलाउने गरिन्छ । अत्यधिक प्रभावशाली बनिसकेको डिजिटल प्रविधिका कारण मिथ्या सूचना, भ्रमलाई अत्यधिक पहुँचमा पु¥याउने सहज अवस्था विकसित भइसकेको छ । मोवाइल, इन्टरनेटमा आधारित अनलाइन र सामाजिक सञ्जालको व्यापक उपयोगका कारणले भ्रमपूर्ण सूचना प्रसारणलाई प्रश्रय दिएको छ ।
यस्ता गलत सूचना प्रवाह पढ्ने मानिसहरूको विचारलाई दुषित पार्दै लगेको छ । मानिसको सोचलाई नियन्त्रित र निर्देशित समेत गर्दै गएको छ । जुन सभ्य र सत्य समाजका लागि दुर्भाग्य बन्दै गएको देखिन्छ ।
हात हातमा मोवाइल र इन्टरनेटको सहज उपलब्धता र व्यापकतासँगै सामाजिक सञ्जाल सूचनाको दिने शक्तिशाली माध्यम बनेको छ । हातहातमा मोबाइल र इन्टरनेटको सहज उपलब्धताले सामाजिक सञ्जालको प्रयोग पनि व्यापक छ । पछिल्लो तथ्याङ्कअनुसार विश्वमा ४ अर्ब ४८ करोड मानिस सामाजिक सञ्जालमा सकृय छन् । प्रयोग गरिरहेका छन् । यसको अर्थ विश्वको आधा व्यक्तिहरू सामाजिक सञ्जालमा भेटिन्छन् । गुगलले ४.६६ अरबभन्दा बढी ‘इन्टरनेट प्रयोगकर्ताहरू भएको देखाउँछ । यसमध्ये गुगल, फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टाग्राम, टिकटक र ट्विटर प्रयोगकर्ता रहेका छन् ।
सञ्जालहरूमार्फत जानकारी, विचार, रूचि र अभिव्यक्तिहरू सिर्जना वा साझेदारी गर्ने उद्देश्य सामाजिक सञ्जालको हो तर यसको भरपूर दुरूपयोग भइरहेको छ । हिजोआज त सामाजिक सञ्जाल समय र सिर्जना खोस्ने, भ्रम फैलाउने, सूचनामाथि हमला गर्ने साधन बनेको छ । फरक बिचारमाथि निषेध गर्ने, विषालु भावना फैलाउने अन्यायको साधन बनेको छ ।
मिथ्या सूचना के हो ?
सेन्टर फर मिडिया रिसर्चले मिथ्या सूचनालाई ‘मूलतः झूटो वा गलत वा भ्रमपूर्ण वा अनर्थ हुने गरी घटना, अभिव्यक्ति, तथ्याङ्क र तर्क प्रयोग वा व्याख्या गरेर समाचारका रूपमा प्रस्तुत आमसञ्चारका माध्यम वा इन्टरनेटका सामग्री’ भनेर व्याख्या गरेको छ । कतिपय तथ्य समाचारभित्र झूठ मिसाएर भ्रमित पार्ने गरिन्छ । यो महामारी हो ।
युनेस्कोले मिथ्या सूचनालाई ‘मिसइन्फर्मेसन’, ‘डिसइन्फर्मेसन’ र ‘मालइन्फर्मेसन’ भनेको छ ।
गलतलाई सही ठानेर फैलाउने मिसइन्फर्मेसन हो । गलत सूचनालाई जानाजानी र नियतवश अरूलाई भ्रमित पार्नु ‘डिसइन्फर्मेसन’ हो । देश, व्यक्ति, कुनै संस्था वा समूहप्रति हानी पु¥याउने उद्देश्यको सूचना ‘मालइन्फर्मेसन’ हो ।
मिथ्या सूचनाको असर साह्रै घातक हुनेगर्छ । गलत सूचना सहीजस्तै लाग्छ, धेरैले त्यस्ता सूचनालाई शेयर गर्नेगर्छन् । यसकारण यसकारण गलत सूचनाको बाढी नै आएको छ । जुन घातक असर हुनेगर्छ । कयौं अनलाइन पोर्टलहरूले प्रायोजित रूपमा प्रयोग भइदिनुले नकारात्मक असर बढ्दै गएको छ ।
प्रायोजित गलत सूचनाबाट लाभ हुने पक्षले यस्ता समाचारलाई भाइरल बनाउने गर्छन् । मिथ्या समाचारले आन्तरिक एकता भाँडिने, हिंसा बढ्नेमात्र होइन, देश देशवीचको सम्बन्ध र नीतिमा समेत असर पार्ने गरेको छ । यो ठूलो चुनौती हो । युग डिजिटल, समाचार मिथ्या र भ्रामक, यससँग सचेत हुनजरूरी छ । लड्ने कसरी ? लोकतन्त्र बलियो बनाउन मिथ्या सूचनाबाट जोगिन नागरिक संचेतना जरूरी छ ।
मिथ्या सूचना फैलाउने र विश्वास गर्नेवीच समस्या धेरै छ । मिथ्या समाचारको पहिचान नै मुस्किल हुन्छ । नेपालजस्ता मुलुक जहाँ चेतना कमजोर छ, लोकतन्त्र मजबुत छैन, विदेशी प्रभाव बढी छ, मिथ्या सूचनाले पार्ने जोखिम पनि ठूलो छ । ‘डिजिटल राइट्स’को चेतना पनि जगाउन जरूरी छ । सूचना एकिन नगरी लाइक, कमेन्ट, शेयर गर्नु खतरा बढाउनु हो ।
मिथ्या सूचना कानुनले भन्दा पनि चेतनाले नियन्त्रण गर्न सकिन्छ ।
विज्ञ भन्छन्– कुनै पनि सञ्चार माध्यम वा सामाजिक सञ्जाललाई आफ्ना विचार, भावना र अनुभव आदानप्रदान गर्न, नयाँ प्रविधि र सिकाइ प्राप्त गर्न, जनचेतना बढाउन र बृहत्तर हितमा उपयोग गर्ने बानी बसालौँ । अन्यथा कानुनव्यवस्था प्रताडित हुनेछ ।
– डा.विनिता