
आगामी १ जुन २०२४ देखि २९ जुन २०२४ सम्म वेस्ट इन्डिज र अमेरिका हुने आइसिसी टी-२० विश्वकप क्रिकेटको अभ्यास खेलमा नेपालले दोश्रो जित हात परेको छ । आइतबार बिहान सम्पन्न दोस्रो खेलमा नेपालले हस्टन हुरिकेन्सलाई २७ रनले हराउदै दोस्रो जित निकालेको हो ।
यसअघि पहिलो अभ्यास खेलमा शनिबार ६ रनको जित निकालेको नेपाल आइतबार बिहान सम्पन्न दोस्रो खेलमा २७ रनले विजयी भएको थियो । सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १२४ रनको लक्ष्य पछ्याएको हुरिकेन्सले १८.३ ओभरमा ९६ रन बनाएर अलआउट हुँदा नेपाल २७ रनले विजयी भएको हो ।
आईतबारको खेलमा नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४१ रन जोडेका थिए भने कुशल भुर्तेलले २३ रन बनाए । त्यस्तै गुल्सन झा १४ रनमा आउट हुँदा आशिफ शेख १, अनिलकुमार शाह ४ रनमा आउट भएका थिए । त्यसैगरी कुशल मल्लले २ रन,सन्दीप जोरा र सोमपाल कामीले नटआउट समान १२-१२ रन जोडेको खेलमा पूरै २० ओभर खेल्दै नेपालले ६ विकेट गुमाएर १२३ रन बनाएको थियो ।
यता १२४ रनको लक्ष्य पछ्याएको हुरिकेन्सलाई सस्तैमा समेट्न नेपालका लागि करण केसीले मात्र १० रन दिएर तीन विकेट हात पारेका थिए । सोमपाल कामीले दुई विकेट,रोहितकुमार पौडेल, अविनास बोहोरा र सागर ढकालले समान एकएक विकेट लिएर नेपाललाई जिताउन सफल भएका थिए ।


