Advertisement Banner
Advertisement Banner

१४ बिहिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

आज किराँत राई समुदायले उँभौली पर्व मनाउदै

१० बिहिबार , जेठ २०८१२ बर्ष अगाडि

आज किराँत राई समुदायले उँभौली पर्व मनाउदै

हरेक वर्ष झैं वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व यसवर्ष पनि पूजा आराधना गरी धुमधामसँग मनाइँदै छ । गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरि मनाईने यो पर्व आज मनाउन लागिएको हो ।

यो मौसममा गर्मी बढ्ने भएकाले किराँत राई समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यस पर्वको नाम उँभौली राखेको किम्बदन्ती रहेको पाईन्छ । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गी,जङ्गली जनावर,नदीमा माछा लगायतका जीवजन्तु गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास रहेको छ ।

किराँत समुदायका मानिसहरु मंसिर शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झर्ने र आजदेखि गर्मि छल्न उँभो लाग्ने परम्परा समेत रहेको पाईन्छ । यस पर्वका अवसरमा चण्डी नाचसमेत नाचिने भएकाले वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा समेत भनिन्छ ।

किराँत समुदायका मानिसहरुले चण्डीसंगै साकेला नाच पनि नाच्ने गरेका छन् । किराँत समुदायमा पनि एकथरीले उँभौली पर्व उत्तरायण सुरु हुने दिन माघ १ गते र उँधौली दक्षिणायन सुरु हुने दिन पारेर साउन १ गते मनाउँने गर्दछन । तर, यस समुदायका धेरै मानिसले उँभौली वैशाख शुक्ल पूर्णिमा र उँधौली पर्व मंसिर शुक्ल पूर्णिमाका दिन मनाउने गर्दछन् ।