
छिमेकी राष्ट्र भारतसँग सीमा जोडिएका कैलालीको सीमानाका आज साँझदेखि बन्द हुने भएको छ । भारतमा हुन लागेको लोकसभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै जिल्लाका सबै सीमानाका बन्द हुने भएको हो ।
भारतको उत्तर प्रदेशस्थित खिरी जिल्लामा वैशाख ३१ गते हुन लागेको लोकसभा सामान्य निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ ।
आजदेखि मतदान समाप्त नहुँदासम्म नेपाल-भारत अन्तर्राष्ट्रिय सीमा नाका बन्द रहने भारतीय पक्षबाट पत्राचार भएको र उक्त निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा संवेदनशीलताका कारण आज बैशाख २८ गते साँझ ६ बजेदेखि वैशाख ३१ गते मतदान सम्पन्न नभएसम्म सीमानाका बन्द हुने बताईएको छ ।


