Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

विपदबाट क्षति भएका घरको पुनर्निर्माणमा सरकारको अनुदान

२७ बिहिबार , बैशाख २०८१५ महिना अगाडि

विपदबाट क्षति भएका घरको पुनर्निर्माणमा सरकारको अनुदान

अब कुनैपनि विपदबाट क्षति भएका घरको पुनर्निर्माणमा सरकारले अनुदान दिने भएको छ । सरकारले यसअघिको भूकम्प, आगलागी र मनसुनजन्य विपदबाट क्षति भएकालाई मात्र अनुदान दिने व्यवस्थालाई परिवर्तन गर्दै सबैखाले विपदबाट क्षति भएका घरको पुनर्निर्माणका लागि अनुदान दिने भएको हो ।

ललितपुरमा नेपाल सेल्टर फोरमको दुई दिने छलफलको समापन गर्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सबै प्रकारका विपदबाट हुने आवासको क्षतिमा सरकारले पुनः निर्माणका लागि अनुदान दिने कार्यविधि पारित गरेको बताएका छन् ।

सबैखाले विपद्का घटनाबाट घरबास गुमाएका नागरिकले आवास पुनः निर्माणका लागि अनुदान पाउने बताउदै मन्त्री लामिछानेले जिल्लाको वर्गीकरणअनुसार अनुदान दिने रकम तोकिएको जानकारी दिएका छन् । उनले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको वैशाख ३ को बैठकले पारित गरेको कार्यविधि अनुसार जिल्लाको वर्गीकरण बमोजिम लाभग्राहीले ४, ५ र ६ लाख रुपैयाँ तीन किस्तामा अनुदान पाउने बताए ।

कार्यविधिमा काठ खरिदमा सरकारी मूल्यको ९० प्रतिशत छुट र आवास निर्माण गर्न नसक्ने (विपन्न, संकटासन्न र अपाङ्गता भएका) परिवारलाई अनुदान रकममा पनि ५० हजार अरु थप हुने व्यवस्था गरिएको मन्त्री लामिछानेले जानकारी दिएका थिए ।

उक्त कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विस्तृत क्षति आङ्कलन भएसँगै डोटी, बझाङ र जाजरकोटमा भूकम्पबाट आवास गुमाउनेका लागि पुनर्निर्माण र पुनः स्थापनाको काम सुरु गरिने बताईएको थियो । साथै उक्त पुनर्निर्माणमा झन्डै ७३ अर्ब रुपैयाँ लाग्ने प्राधिकरणले अनुमान गरेको छ ।