न संविधानले जनतालाई संवोधन गर्यो, न संशोधनले सहमतिको ढोका खोल्यो। संविधान र संशोधनलाई जनताले अपनत्व ग्रहण गरेनन्। बिमति सडकमा उर्लिरहेकै बेलामा संविधान जारी गरियो, संशोधन गर्दा पनि आन्दोलनको आवाज सुनिएन।
जसलाई संविधान चाहिने हो, जसको माग संवोधन गर्न संशोधन गरिने हो, तिनीहरु नआएको अवस्थामा निर्णयमा पुग्नु नै गलत थियो। असोज ३ को संविधान घोषणा र माघ ९ को संशोधनले न मधेसी मोर्चा खुशी भए, न भारत? जसलाई खुशी पार्न हतार हतारमा र एकपक्षीय रुपमा यी कार्य भए, कतै नेपाललाई अस्थिर, अराजक र अव्यवस्थित पारिरहने षडयन्त्र त भइरहेको छैन?
मधेसी मोर्चा साउन १ गतेदेखि नै आन्दोलित थिए। दिल्लीले विदेश सचिव पठाएर केही दिन पर्ख, सहमति गरेर संविधान जारी गर्दा राम्रो हुन्छ भन्दा मानेनन् दलहरु। द्रुतराजमार्गबाट संविधान जारी गरियो। मानौं, ठूला दलहरुले सगरमाथा आरोहण गरे।
संविधान जारी हुनासाथ नेपालमा रगत बग्न थाल्यो, बिबाद बढ्यो, झगडा चर्क्यो, मधेस आन्दोलन उम्लियो, भारतले नाकावन्दी गरिदियो। झट्ट हेर्दा हाम्रा राजनीतिक दलहरु राष्ट्रवादी हुन् र मधेसी मोर्चा अथवा संविधान जारी गर्न हतार भयो भन्नेहरु अराष्ट्रिय तत्व। तर सत्य त्यो होइन। सत्य के हो भने जनताले अपनत्व ग्रहण गर्न नसक्ने थाहा पाउँदा पाउँदै हतारमा संविधान जारी किन गरियो, अहिले आन्दोलनकारी सडकमै भएका बेलामा संशोधन किन गरियो? यसको कारण भनेको राजनीतिक सत्तास्वार्थभन्दा अरु केही होइन। यथार्थमा ठूला दलहरु राजनीतिक बिबादको अन्त्य चाहदेनन् अथवा विदेशी शक्तिको अभिष्ट पूरा गर्ने प्यादा बनेका छन्। मधेसी मोर्चा प्रस्तावक अथवा समर्थक भएर संविधान आउनुपर्थ्यो अथवा संशोधन गरिएको भए आज मुलुक यसरी अस्थिर रहने थिएन। नाका चालले भारतले नाकावन्दी खुला गरिसकेको हुनेथियो।
एक त भूकम्पको सकस, त्यसमाथि नाकावन्दीले नेपालको लाइफ लाइन नै मर्कियो, भाँचियो। मधेसी मोर्चाले राजधानी केन्द्रित आन्दोलन गर्ने, आन्दोलन चर्काउने र सिमांकन र मधेसमा दुईप्रदेशसहित सेनामा समेत आरक्षण लिएर छाड्ने निर्णय गरिसकेको छ।
प्रचण्ड भन्छन्: संशोधनले मधेसी मोर्चाका नेताहरु भित्रभित्रै खुशी छन्। एमाले भन्छ: मधेसी मोर्चाका सबै माग संवोधन भयो। फेरि किन मधेस आन्दोलित छ? मधेस आन्दोलनको रोग र त्यसको निदान के हो? सत्ताधारी एमाले, एमाओवादीलाई थाहै छैन अथवा थाहा पाएर पनि बुझ पचाइरहेका छन्। यथार्थमा मधेसी मोर्चा भारतको देखाउने दाँत हो, इण्डियाको चपाउने दाँत अर्कै छ र हिन्दूस्तानको ग्य्राण्ड डिजाइन भिन्नै। विज्ञहरु भन्छन्– भारत, इण्डिया र हिन्दूस्तान (कर्मचारीतन्त्र, मोदी सरकार र रअ) को तीन प्रकारको जाँतोमा नेपाल पिसिइरहेको छ। त्यही चक्रव्यूहको एकलव्य बनेका छन् हाम्रा सत्ताधारी पार्टीहरु। यसकारण संशोधनले पनि खुशी छैन भारत।
उसले सकारात्मक मात्रै भन्यो र अरु असन्तुष्टिहरुलाई पनि सहमतिका माध्यमबाट मिलाउने विश्वास गर्यो। नेपाल एकसय २३ दिनमै संविधानको संशोधन गरेर पनि समस्यामै देखियो।
संविधान जारी गरिदा खुशी भयो, भ्याटिकन सिटी। हाँसे क्रिश्चियन पोप। रगतको आँसु रुनुपर्यो नेपालीले, संविधानका कारणले ५९ मरिसके, अर्थतन्त्र धरासायी भइसक्यो। पश्चिमालाई हर्षबढाइँ भयो। संविधानप्रति 'नोट' गरेको भारतले नाकावन्दीको नत्थी लगाइदियो। असोज ३ को त्यो दशाबाट मुक्ति पाउन अरु धेरै वर्ष लाग्नेछ। राजनीतिक सिण्डिकेटले गरेको गल्तीको चर्को मूल्य देश र जनताले चुकाउनु परिरहेको छ।
लाभ भयो: एमालेका अध्यक्ष केपी ओलीलाई। ओली प्रधानमन्त्री भए, उनको प्रधानमन्त्रीत्वमा प्रचण्डलाई लाभ भयो। सत्तासँग सिद्धान्त साट्ने १६ साना दलहरुले सत्ताको बिगौति खान पाए। न शान्ति आयो, न स्थिरता। न लोकतन्त्र बलियो भयो, न एकता कायम भयो। बिखण्डन र बिभाजनका श्वरहरु बढेर गएका छन्। सिके राउतजस्ता बिखण्डनवादी र विप्लवजस्ता हतियारधारीहरुले छुट पाइरहेका छन्। संविधानले अर्को युद्ध को मोर्चा खोलिदिएको छ। त्यो युद्धलाई रोक्ने, निस्तेज पार्ने क्षमता न ओलीमा छ, न ओलीसरकारमा , न प्रचण्डमा छ, न सुशीलमा। सबै आ–आफ्नै स्वार्थको बन्दीबनेका छन्। देशको स्वार्थ, देशहित र जनएकता यिनको प्राथमिकतामा नै देखिन्न। यसकारण संविधान देश र भेष अनुकूल शिद्ध हुनसकेन। परिवर्तन जनताको माग थियो, भयो। परिवर्तनलाई जनअपेक्षाको साँचोमा ढाल्न नेताहरुले सकेनन्। परिवर्तनलाई नेतातन्त्र बनाउन खोज्दा, संविधान ऊँट बन्नपुग्यो, लोकतन्त्र खाक्रो साबित हुँदैछ र संविधान र लोकतन्त्रलाई विदेशीले आफूअनुकूल प्रयोग गर्न थालेका छन्। नेपाल विदेशी शक्तिको चलखेलको मैदान बनेको छ।
नेताहरुले आफूलाई महाराजा ठान्दा र आफै लोकतन्त्र हुँ भन्ने मान्दा जनताका लागि लोकतन्त्र बुख्याँचा बनिसकेको छ। एकसय छब्बीस जातिको नेपाललाई, हिमाल, पहाड र तराईको भूगोललाई सन्तुलन राखेर चलाउन नसक्नेहरुले संघीयताको सपना बाँडिरहेका छन्। यही संघीयताको मुद्दाले नेपाल मानसिक रुपमा तितरबितर भइसक्यो, अव बिद्रोहको खुकुरीले छिया छिया पारेर टुक्रिन पुग्यो अथवा नरसंहारमा परिवर्तन भयो भने आश्चर्य नमाने हुन्छ। विश्लेषकहरु भन्छन्: नेताहरु असफल भइसके, नेपाल भगवान भरोसे हुनपुग्यो। नेपाल हाँक्ने कारिगरी नेतृत्व विकासै हुनसकेन।