Advertisement Banner
Advertisement Banner

१६ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बाबुराम बस वानेश्वरबाट कता पुग्छ?

११ सोमबार , माघ २०७२९ बर्ष अगाडि

२०५२ सालबाट १० वर्ष चलेको जनयुद्ध १७ हजार जनताको ज्यान खाएर भ्रष्टाचारको सुङ्गुर बन्यो, २०७२ साल माघ १० गते बानेश्वरबाट हिडेको नयाँशक्ति परिषद नामको राजनीतिक एक्सप्रेस बाबुराम बस बिकासमा पुग्ला कि बिनासमा?

परिवर्तनपछि जे जति जनपीडा छ, नयाँशक्तिले हर्ला कि यो पनि जनताकै थाप्लोको भार बन्ला? बाबुराम बसको लक्ष्य के हो, कता हिडेको हो? बस चल्यो, राजनीतिक पार्टीहरुमा चहलपहल पनि सुरु भयो। जनतामा तरङ्ग ल्याउन सकैन। जनतालाई सुरक्षित यात्रा हुन्छ भन्ने विश्वास बाबुराम बसले दिन सकेको छैन।
कमरेड बाबुरामले कम्युनिजम छाडेको हो कि पार्टीको नाममात्रै नयाँ शक्ति नेपाल राखेर पछि यसमा नेकपा थप्ने हो? यो पनि स्पष्ट छैन। ९ डाक्टर, ४ पूर्व सचिव, विकास अभियन्ता, कलाकार, पत्रकार, खस–बाहुन–राईलिम्बु–मधिसे, थारु, नेवारलगायतका जातजातिसमेत समेटेर नयाँशक्ति परिषद गठन गरिएको छ। यो नयाँ शक्ति नेपाल नै जनअपेक्षाको प्रत्याभूति हो, आइन्दा जनताप्रति अन्याय हुनेछैन भन्ने प्रतिवद्धता आइसकेको अवस्था पनि देखिन्न।

हो, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले ४० वर्षे कम्युनिष्ट राजनीतिलाई संसदमा सेलाएर नयाँशक्ति निर्माणमा लागेका छन्। उनी चन्द्रगुप्त मौर्य अथवा अशोक बन्न सक्लान् कि नसक्लान्? यो प्रश्नको वरिपरि थप प्रश्न पनि छ, त्यो हो– मौर्य बंशका अशोक बन्ने बाबुरामको नयाँशक्तिको चाणक्य कतै भित्री रुपमा भारत त होइन?
राम्रो, धेरै राम्रो कुरा के हो भने बाबुरामको कम्युनिजमबाट नयाँ नेपाल निर्माण सम्भव छैन भन्ने उनको अभिव्यक्ति बनेको छ। अर्थात कम्युनिजम विध्वंश हो, सबै विध्वंशपछि निर्माण सुरु हुन्छ भन्ने बाबुरामको पुरानो मन मान्यतामा पनि परिवर्तन आएको छ। कम्युनिजमभित्र ठूलो असंगति, बिकृति, बिसंगति देखें, चिन्तनमा यान्त्रिकता, संकीर्णता र जडता पाएँ भनेर उनले आत्मालोचना पनि गरेका छन्। सिमित घेरामा होइन, व्यापकतामा बस्न नयाँ शक्तिको निर्माण थालेको पनि उनले बताए। यो परिवर्तनलाई सकारात्मक मान्नेहरु नयाँशक्तिको जग बनेका छन्। यो जगको आधारमा नयाँ शक्तिको घर बन्ने हो। त्यो घरमा देशका १ सय २६ जाति, हिमाल–पहाड–तराई अटाउने उनको दावी छ। त्यो दावी सत्य साबित गर्ने निर्माण लक्ष्यमा बाबुरामको नयाँशक्ति बस बानेश्वरबाट हिड्को हो त?
बाबुराम भट्टराईले यू टर्न लिए। यो यू टर्नमा उनले नेतृ हिसिला यमीलाई अलि परै राखे, परिषदमा सामेल गरेनन्। बुझ्न सकिन्छ– उनी दोषमुक्त रुपमा स्वतन्त्रताको खोजी गर्न निस्केका छन्। तर बाबुरामले स्पष्ट भनेका छैनन्– जनयुद्धको सफलताले सत्ता दिलायो, शक्ति दिलायो, तर जनयुद्धको आधार ४० बुँदे मागपत्रमा उनी आफै असफल रहे, सिंगो एमाओवादी फेल भयो। ती मागपत्रप्रति बाबुरामको नयाँशक्तिको मन्थन र निथार के हो? जनतालाई अन्यायमा पारेर, निराशाको अँध्यारोमा हालेर जनतासँग माफी माग्नुपर्छ कि पर्दैन? र, नयाँशक्ति कसरी उज्यालो दिनसक्छ? पर्याप्त आधार देखाउनु पर्छ कि पर्दैन? यो स्थितिमा नयाँशक्ति कुहीगन्दे बनेको राजनीतिक फाँटको फौबञ्जार नयाँ पसलमात्र त  होइन? किनकि नेपालका राजनीतिक दलहरु पसलमा सिमित छन् र तिनको उद्देश्य मात्र नाफा आर्जन गर्नु रहेको छ। नयाँशक्ति नयाँ पसल नबनोस््।

२०५२ सालमा जनयुद्धको कार्यदिशा बाबुरामको थियो। अहिले नयाँशक्ति निर्माणको कार्यदिशा पनि बाबुरामकै हो। यी दुबै कार्यदिशामा भिन्नता के? बाबुरामले नयाँ कार्यदिशाका साथ नयाँशक्ति निर्माण गर्नुपर्ने कारणहरु जनतालाई सुसूचित गर्ने दायित्वबोध डा.बाबुराम भट्टराईले किन भएन? जनयुद्धमा भत्काइएका जनताको मन, सफाया गरिएका परिवारजनको मुटुप्रतिको कर्तव्यबोध र देशका पूर्वाधार निर्माण गर्ने ल्याकत र ताकत डा.बाबुरामको कार्यदिशामा कहाँनेर उल्लेख छ, देखाउन जरुरी छ कि छैन? पूर्वलडाकाहरु जो खाडीमा मरिरहेका छन्, जो राजमार्गमा बेश्यावृत्ति गरेर पेट पालिरहेका छन्, युवा जसको जवानी खेर गयो, जीवन बर्बाद भयो, तिनको अन्धकार भविष्यप्रति बाबुरामको चिन्ता र चिन्तन के छ? भनिन्छ, ढाँटेको कुरा काटे मिल्दैन। डा.बाबुरामले नयाँशक्ति बनाउन लागिपर्दा हिजोका गल्ती, कमजोरी सच्याउन जरुरी छ कि छैन, भावि दिनमा त्यस्ता जघन्य अपराध हुनेछैन भनेर बकपत्र गर्नु पर्छ कि पर्दैन? हिजो मान्छेके बाँच्न पाउने अधिकार खोस्ने, आज मान्छे स्वतन्त्रपूर्वक बाँच्न पाउनुपर्छ भनेर वकालत गर्दै नयाँ शक्ति निर्माणमा जुट्छ भने सौ मुसा खाकर बिल्ली चली हजको भन्ने उखान चरितार्थ नहोस्। अपराध मोचनका लागि नयाँशक्ति गौदान साबित र त्यसैमा सिमित नहोस्।
बाबुरामको वेभपेजबाट उनका बिगत डिलिट भएका छन्। उनको आन्द्राभुँडीमा कटकटिएर बसेका कम्युनिजम र ज्यानमारा प्रवृत्ति सफा भइसक्यो कि भएन? नयाँशक्तिको बाबुराम बस त बानेश्वरबाट छुट्यो, यो नयाँशक्ति बस छुट्नुभन्दा पहिले जनयुद्धकालीन दिनहरुमा भएका अपराधप्रति घुँडा टेकेर जनतासँग क्षमायाचना गरेको भए बाबुरामको कुख्याति निश्चय नै घट्ने थियो। उनलाई हेर्ने जनदृष्टिमा नरमपना आउने थियो। बाबुरामले जनतासँग झुक्नुपर्दैन?
नयाँशक्तिको प्रगतिशील राष्ट्रवाद नेपाली स्वाधीनतासहितको हितमा छ कि भुटानीकरणमा निहित र सिक्किमीकरणमा सिमित छ? प्रधानमन्त्रीको पदमा बसेर आधा नेपाल उत्तर र आधा दक्षिणतिर मर्ज हुनसक्छ भन्ने बाबुराम नै हुन्। लगानीको ओइरो लाग्छ भनेर बिप्पा गर्ने पनि उनै हुन्। नेपालका अन्तर्राष्ट्रिय बिमानस्थलदेखि ८ ठूला एयरपोर्टको व्यवस्थापन भारतलाई दिने प्रस्तावक पनि उनै हुन्। यसकारण प्रभाकरले भनेजस्तो नयाँशक्ति भारतभक्ति त होइन? नयाँशक्ति भारतको हितचिन्तक होइन, नेपाली सार्वभौमिकताको रक्षक हो भनेर पहिले प्रमाणित हुन जरुरी छ। नयाँशक्ति र प्रगतिशील राष्ट्रवादको ध्येय नेपाल र नेपाली बाहेक विदेशभक्ति होइन भन्न सक्नुपर्छ, त्यसैखाले सिद्धान्त र व्यवहारमा देखिनुपर्छ। अन्यथा गाली खाइरहेको नयाँशक्ति उर्जाहीन बन्नेछ।
बाबुरामको मुख आकाशवाणी हुनुहुन्न। आकाशवाणी सुन्दा र हेर्दा हेर्दा जनता थाकिसके। फेरि पनि उही आकाशवाणी भयो भने गोरखपुर र गोरखा एकै भइसकेछन् भन्ने अर्थ लाग्नेछ र देश र जनता अर्को धोखाधडीमा पर्नेछन्। संविधान नमान्ने सडकमा हुँदै हतारमा संविधान घोषणा गरियो– किन? संविधानमा बिमति राखेर आन्दोलनरत मधेसी मोर्चाको सहमति बिना अर्थहीन रुपमा संशोधन गरियो– किन? नयाँशक्ति नेपालमा त्यही अस्थिरता बढाउने थप कारणको निरन्तरता हुने त होइन?
सवाल अनेक छन्: जवाफ नयाँशक्ति बसका चालक डा.बाबुरामले दिनुपर्छ कि पर्दैन? परिषद यस्तो छ:
संयोजक १. डा. बाबुराम भट्टराई, गोरखा
परिषद् सदस्यहरु : २ अशोक शर्मा, झापा ३ ऋषवदेव भट्टराई, चितवन ४ कमला हेम्चुरी, पाल्पा ५ करिश्मा मानन्धर, काठमाडौं ६ केशव दाहाल, सुनसरी ७ डा. केशवमान शाक्य, काठमाडौं ८ गणेशराज राई, भोजपुर ९ डा. चैतन्य सुब्बा, ताप्लेजुङ १० डा. जीतेन्द्र महासेठ, सिराहा ११ टिका गौचन, म्याग्दी १२ डम्बर खतिवडा, सुनसरी १३ तिलक थापा मगर, मोरङ १४ दलमर्दन कामी, सुनसरी १५ दुर्गा सोव, डोटी १६ देवेन्द्र पौडेल, बाग्लुङ १७ नत्थुप्रसाद चौधरी, सप्तरी १८ नारायण पाण्डे, गोरखा १९ पासाङ्ग शेर्पा, ताप्लेजुङ २० डा. प्रवीण मिश्र, महोत्तरी २१ मदन राई, खोटाङ २२ मनप्रसाद सुनुवार, रामेछाप २३ मुमाराम खनाल, कपिलबस्तु २४ डा. मुक्ति रिजाल, अर्घाखाँची २५ मोहनी महर्जन, काठमाडौं २६ डा. राजेन्द्र के.सी., धादिङ २७ डा.रामकेवल साह, धनुषा २८ रामचन्द्र झा, धनुषा २९ रामेश्वर खनाल, पाल्पा ३० लिली थापा, काठमाडौं ३१ वज्रकिशोर यादव, धनुषा ३२ विसन राई, खोटाङ ३३ सरोज खनाल, चितवन ३४ डा. सुरेन्द्र चौधरी, दाङ ३५ हरेराम कोईराला, गोरखा।