नेपाल भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच द्विपक्षीय भेटवार्तासंगै द्विपक्षीय लगानी र सहकार्यसँग सम्बन्धित समझदारी तथा सम्झौतामा हस्ताक्षर भएको छ । कतारी अमिर शेख र प्रधानमन्त्री प्रचण्डबीच होटल सोल्टीमा समझदारी र सम्झौतामा हस्ताक्षर भएको हो ।
समझदारी र सम्झौतामा हस्ताक्षर भएअनुसार दुई देश बीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद लगायतका क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको बताईएको छ ।
कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएको छ । सोल्टी होटलको उक्त समझदारी र सम्झौतामा हस्ताक्षर पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको टोली सहभागी हुने बताईएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि कतारका राजा मंगलबार काठमाडौं आएका थिए । कतारी अमिर शेख तमिम बिन हमाद मंगलबार साँझ राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुका साथै शितल निवासमा आयोजित रात्रिभोजमा सहभागी भएका थिए ।
पहिलोपटक नेपाल भ्रमणमा आएका कतारका राजा तमिम बिन हमादका टोलि आजै दिउँसो स्वदेश फर्किने कार्यक्रम रहेको छ । कतारका राजा तमिम बिन हमादको सम्मानमा नेपाल सरकारले हिजो देशभर सार्वजनिक बिदा दिएको थियो ।