Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

जनताको नमक खाएको जनताको शान्ति सुरक्षामा सेना

११ मंगलबार , बैशाख २०८१६ महिना अगाडि

जनताको नमक खाएको जनताको शान्ति सुरक्षामा सेना

आपत विपत पर्दा सेना । जनताको सहारा हो सेना । यसकारण नेपाली सेना जनताको आस्था र भरोसाको केन्द्र, एकताको प्रतीक हो ।
सेनामा राजनीतिकरण गर्नु राजनीतिक अपराध हो । सेनालाई राष्ट्रिय अन्तिम सुरक्षा कवचका रूपका अर्थमा बुझ्न जरूरी छ ।
सबैलाई थाहा छ– समय समयका घटनाक्रमले पनि प्रमाणित गरेको छ– नेपाली सेना कर्तव्यपथमा अडिग छ, संविधानले सुम्पिएको विशिष्ट जिम्मेवारी पूरा गर्न जस्तोसुकै परिस्थितिको सामना गर्न सदैव तयार छ । पुर्खाले रचेको सुनौलो र गौरवमय इतिहासे छ । जनचाहनाअनुरूप परिवर्तन र परिमार्जन हुँदै आएको राज्य सञ्चालन प्रणालीलाई स्वतस्फूर्तरूपमा आत्मसात् गर्दै जिम्मेवारी बहन गर्न निःस्वार्थ त्याग, बलिदान र योगदानले सेनाको विशिष्ट छवि अक्षुण्ण छ ।
सेनाको भूमिकालाई अक्षुण्ण राख्नुपर्छ । सेनाले बगाएको रगत पसिनाले राष्ट्रिय स्वाधीनता, अखण्डता कायम राख्न अहम् भूमिका खेलेको तथ्य इतिहासको पानामा स्वर्णिम अक्षरले कुँदिएको छ । सेनासँग वीरपुर्खाको त्याग, समर्पण, बलिदान, कर्तव्यपरायण, अटल राष्ट्रभक्ति, जीवन्तता र गौरवमय इतिहास रहेको छ । कुशल व्यवसायिकीकरण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत भरपर्दो, विश्वसनीय र व्यावसायिक फौजका रूपमा नेपाली सेना स्थापित भइसकेको छ । मुलुकको शान्ति सुव्यवस्था र स्थिरताको लागि नेपाली सेनाले गर्दै आएको योगदान पनि कम छैन । 
भूकम्प, बाढी पहिरो, आगलागि, सर्पदंशदेखि अनेक घटना दुर्घटनाका समयमा सेनाले आफ्नो राष्ट्रिय दायित्व, जनजीवनको सुरक्षाका लागि यसरी लम्पसार परेरै, आफ्नो ज्यान हत्केलामै राखेर नागरिकको रक्षा, सुरक्षाका लागि खटिने गरेको छ । ०६५को जस्तो अतिवर्षा, हरेक वर्ष आउने बाढी पहिरो, हरेक दुर्घटनादेखि भूकम्पका समयमा समेत नेपाली सेनाले निभाएको कर्तव्यको जति प्रशंसा गरे पनि कमै हुन्छ । यस्तै सैनिक शक्तिलाई राजनीतिकरण गर्ने अनेक दुस्प्रयास हुँदै आएको छ । अनेक खालका दुस्प्रचार पनि हुने गरेको छ । फास्ट ट्य्राकको काम सेनालाई दिइयो । सेनाले मागेको होइन, दिइएको जिम्मेवारीलाई पूरा गर्न कम्मर कसेर लागेको छ । तर यथार्थ के पनि छ भने एउटा रूख काट्नलाई अथवा जग्गा अधिग्रहणका समस्या समाधान गरिदिने सरकारले हो । सरकारले खरिद नियमदेखि काममा देखा परेका अल्झोलाई हटाइदिने सेनाले सहयोग माग्दा समयमै नपाउँदा काममा ढिलो भएको हो, जसलाई आलोचनाको विषय बनाइयो । आलोचना सरकारको हुनुपर्ने हो, काम गर्ने सेनाको होइन । सेनाले अहिले पनि भनिरहेकै छ, निर्धारित समयमा काम सकिन्छ तर सरकारले सहयोग गरिदिनुपर्छ । फिल्डमा जे जस्ता तगाराहरू छन्, सेनाले प्रशासनलाई गुहार्ने हो, प्रशासनले समयमै निर्णय नगरिदिंदा भएको ढिलासुस्तीको जिम्मेवार सेना कसरी हुनसक्छ । जे होस्, सेना कर्तव्यमा नतिजामुखी भएर लागिरहेकै छ ।
सबैले बुझ्नुपर्छ, नेपाली सेना कमजोर हुँदा देश कमजोर हुन्छ । राज्यका सबै निकाय राजनीतिकरणले थलिएको अवस्था छ । राज्य सञ्जाल नै भ्रष्टिकरण भइसकेको स्थितिमा, कुनै पनि पार्टी अथवा नेताप्रति जनविश्वास न्यूनिकरण भइसकेको अवस्थामा अन्तिम सुरक्षा शक्तिका रूपमा रहेको नेपाली सेनालाई कमजोर पार्ने जुनसुकै प्रयत्नको निन्दा हुनुपर्छ । देशको सान त सकियो, देशको अस्तित्व समस्याबाट संकटतिर उन्मुख भइसकेको छ, देश र जनताका लागि नेपाली सेना कमजोर हुनु खतरा हो भन्ने बुझौं ।    –न्यूज डेस्क