Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

सबै बालबालिकालाई विद्यालय पठाउन प्रधानमन्त्रीको आह्वान

०२ आइतबार , बैशाख २०८१२ बर्ष अगाडि

सबै बालबालिकालाई विद्यालय पठाउन प्रधानमन्त्रीको आह्वान

नयाँ शैक्षिक सत्र सुरु भएसंगै विद्यालय जाने उमेरका सबै बालबालिकाहरूलाई पायक पर्ने विद्यालयमा भर्ना गरि नियमित विद्यालय पठाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डले सबैलाई आह्वान गरेका हुन् ।

प्रधानमन्त्रीले नयाँ शैक्षिक सत्र सुरु भएको उल्लेख गर्दै विद्यालय जाने उमेरका बालबालिकाहरूलाई विद्यालयमा भर्ना गराई सबै बालबालिकालाई नियमित रुपमा विद्यालय पठाउनका आह्वान गरेका हुन् । उनले ‘‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’’ भन्ने सङ्कल्पका साथ २०८१ को नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना अभियानमा सरिक हुन सबैमा शुभकामना सहित आग्रह गरेका छन् ।  

शिक्षा पाउनु हरेक बालबालिकाको संविधान प्रदत्त एवं जन्मसिद्ध मौलिक अधिकार भएको र त्यसको पूर्ण कार्यान्वयन गर्न सरकारले प्रयास गरिरहेको उनको भनाई थियो । प्रधानमन्त्रीले भनेका छन्, ‘मौलिक हकको पूर्ण कार्यान्वयन गर्न नेपालको संविधान र निःशुल्क शिक्षासम्बन्धी ऐनबमोजिम २०८५ वैशाखभित्र आधारभूत तहको शिक्षा अनिवार्य सुनिश्चित गराउनुपर्ने कार्यभार हामीसामु छ।’

शिक्षाको मौलिक हक कार्यान्वयनका निम्ति विकास साझेदारहरु, नागरिक समाज एवं निजी क्षेत्रको योगदानको प्रशंसा गर्दै प्रधानमन्त्रीले बालबालिकालाई विद्यालयमा भर्ना सुनिश्चितता गर्नुपर्ने तथा शैक्षिक सत्रको बीचमा नै विद्यालय छाड्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्रीले विद्यालय शिक्षामा संघ, प्रदेश र स्थानीय सरकारले आफ्नो सामर्थ्यले  भ्याएसम्म लगानी गर्दै आएको उल्लेख गर्दै विद्यालय शिक्षा सुधारका प्रयासहरुलाई परिणाममुखी बनाउन थप सामूहिक प्रयासको आवस्यक रहेको बताएका छन् ।