ओली सरकार गठन भएको आज सय दिन पुग्यो। हनिमुन पिरियड मानिएको सय दिन जनताका लागि सास्तीपूर्ण सराप सरह बन्यो। भूकम्पले भत्किएको बास, भताभुङ्ग भएको जीवनशैली, पुषे ठण्डीमाथि हिउँको मार, नाकावन्दीले थेग्नै नसकिने कालोबजारका कारण अस्तव्यस्त शासन, प्रशासनलाई व्यवस्थित गर्न र जनतालाई राहत र साथ दिन बनेको केपी ओली नेतृत्वको १६ दलीय सरकारले के के गर्छ भनेको त सय दिन हल्लैहल्ला, ठट्टठट्टा गरेर बिताइदियो। सबै जिल्लाराम परे। जनताको कष्ट र चित्कारमा रमाउने सरकार पनि के सरकार? मानवीयताको संकटमा संवेदनशील बन्न नसक्ने नेता पनि के नेता? यस्तै देखियो ओली नेतृत्वको सरकारको सय दिन।
ओलीले घोषणा गरे– म देशलाई तुइनमुक्त पारिदिन्छु। उनले बोलेको केही दिनमै महाकाली पार गर्न लागेका व्यक्ति तुइनबाट खसेर हराए। उनलाई महाकालीले खायो। मधेस आन्दोलनको कारण देखाएर भारतले अघोषित नाकावन्दी गरिदियो। ग्यास, मटितेल, पेट्रोल, डिजल सबै कालोबजारी हुनथाल्यो। सुरक्षाकर्मी, प्रशासन, आयल निगमकै कर्मचारी सबै कालोबजार गरेर पैसा कमाउन थाले। प्रधानमन्त्री ओली सिंहदरवारको बेलायती बैठकमा बसेर देशको अर्थतन्त्र कालाम्मे हुँदै गएको टुलुटुलु हेरेर बसे। अव त केही बोल्नै पर्यो भनेर स्वेतपत्र जारी गर्न लगाए, स्वेतपत्र नै कालाम्मे भयो। राजधानीमा मेट्रो चलाइदिन्छु, विद्यतीय सवारी साधन चल्छ अव, केवल कार चल्छ अव भनेर फुइँकी हाँके। उनको धीत मरेन छ, ओली फेरि कुर्लिए– एकवर्षमा लोडसेडिङ मुक्त गराइदिन्छु, हावाबाट विद्युत निकाल्छु र घरघर चुलाचुलामा ग्याँसको पाइप जोडिदिन्छु। ओली कुर्लिन छाडेका छैनन्।
गफै त हो, हास्य कलाकार बनेर प्रधानमन्त्री केपी ओलीले गुड्डी हाँके– चीनबाट पाइपलाइन बिछ्याएर तेल ल्याउँछौं। लोकतान्त्रिक गणतन्त्र नेपाल ख्यालठट्टा बन्यो। ओली सरकारको सय दिन जनताका लागि कहर बन्यो, ओली टिमका ४० जना र तिनका आउरेबाउरेका लागि कमाउने पहर बन्यो। जनताको पीडा कसले हेर्ने?
समस्या आजको छ, अहिलेको छ। जनता प्राकृतिक प्रकोप, मौसमी ठण्डी र राज्यसत्ताको अमानवीयता र भेदभावले मरिरहेका छन्। प्रधानमन्त्री सपना बाँडिरहेका छन् र राज्यकोषको चरम दुरुपयोग भइरहेको छ। ओलीलाई लागेको होला: सपना बाँडेपछि जनता चुप लाग्छन्। जनतालाई भुलभुलैयामा राखेर अलिक दिन शसन सत्ता उखु चुसेजसरी चुस्न पाइन्छ। एकातिर पटापट काम गर्न पाइन भन्ने, अर्कोतिर संविधान कार्यान्वयन गर्ने प्रथम दायित्व बोकेको प्रधानमन्त्रीले नै संविधान उल्लंघन गरेर जम्बो सरकार बनाउने अनि सर्वोच्चलाई राजनीतिमा प्रवेश नगर भनेर ओठे जवाफ दिने काम प्रम ओलीबाट भएको छ। यस्ता नेता न राजनेता हुनसक्छन्, न जननेता। यी त हास्य कलाकार हुन्, जो विवेकहीन छन् र जनताको पीडामा निर्दयी नुनचुक दलिरहेका छन्।
प्रधानमन्त्री केपी ओली नाकावन्दी नहटी भारत जाँदैजान्न भनेर चीन जाने तैयारी गर्दैथिए, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको फोन आयो। केपी ओलीको भुइँमा खुट्टै भएन। उनले परराष्ट्रलाई आदेश दिए– भारत जाने हो, होमवर्क थालिहाल्नु। यो थाहा पाएको चीनले चीन पुगेका वनमन्त्री अग्नि सापकोटामार्फत खबर पठायो– पहिले चीन आउनुहुन्न? प्रम ओली भारत जानलागेको विषयमा चिनियाँ राजदूतले चासोलाई व्यापक पारेका छन्। विज्ञहरु भन्छन्: ओलीसँग राजनीतिक ज्ञान र विज्ञानमात्र होइन, कूटनीतिक क्षमताको पनि कमी रहेछ। हुन पनि परराष्ट्रमन्त्री कमल थापाले कूटनीतिक बृत्तलाई ब्रिफिङ गर्नासाथ आफू छायाँमा परेको अनुभूति गरेर प्रधानमन्त्री स्वयंले त्यही बृत्तलाई बोलाएर लन्च ब्रिफिङ दिए। ओलीको हैसियत इम्परर न्यू क्लोथको कथा बनिसकेको छ।
इतिहासमा स्वामी महाराज बनेर सत्तामा फर्कने रणबहादुर शाह अथवा राजा भएर मनपरी आदेश फर्मान जारी गर्ने सुरेन्द्र शाहजस्ता देखिए केपी ओली। हुन त सुशील सरकारकै पालामा प्रचण्डले उपचार खर्च दिएर ओलीको मानसिक चेकअप गराउने माग गरेका थिए। उनै प्रचण्ड ओलीका सारथी बनेका छन् र ओली ६ उपप्रधानमन्त्री, ४० जनाको मन्त्रिमण्डल, दर्जन सल्लाहकारलाई साथमा लिएर राजनीतिक आखेट गरिरहेका छन्। महामारी, हाहाकार, प्रकोपमा परेका जनता र असफलताको भीरबाट गुल्टिन लागेको देशको अर्थतन्त्रप्रतिको राजनीतिक जिम्मेवारी पटक्कै निर्वाह गरिरहेका छैनन् ओली। भारतको विकल्प चीनलाई बनाउन नसकेपछि भारतकै सामु लम्पसार पर्न लागेको ओलीले अझै दुई कुरा बुझ्न सकेका छैनन्।
पहिलो– भारतको बिकल्प भारत नै हो, चीन होइन। दोस्रो– नाकावन्दी खोलियो र इन्धनलगायतका बस्तु सहज भए पनि बरफ बनिसकेको नेपाल–भारत सम्बन्ध सामान्यीकरण हुन लामो समय लाग्नेछ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र ब्यूरोक्रेसीले नेपालका नेताहरुको अविश्वसनीयतालाई इज्जतका सवाल बनाइसकेको छ। यिनै केपी ओलीले प्रधानमन्त्रीको पदमा बसेर भारतलाई नम्बरवान दुश्मन भनेको भारतले च्वाट्टै बिर्सेला र? भारत खुनी छ है। हँसाउनचाहिं खप्पीस छन् ओली। यही कारण उनले प्रधानमन्त्री बस्ने, हिड्ने, काम गर्ने, भेट्ने सबै थलोलाई हास्यमञ्च बनाइदिएका छन्। आजकल ओलीलाई टीभीमा देख्दा पनि आमनागरिक हाँस्छन्। यस्तै हुन्छ प्रधानमन्त्रीको व्यक्तित्व?
राजनीतिक विश्लेषकहरुको निष्कर्ष छ– ओली सरकारका सय दिन सरापजसरी गुजारियो। यो सरापबाट कहिले मुक्ति मिल्ला?
यसैवीच महाकाली पुगेका प्रचण्डले झलनाथ खनाल र माधव नेपालकै लोलीमा बोली मिलाएर भनेका छन्– देशका समस्या समाधान गर्न राष्ट्रिय सरकारको खाँचो पर्यो। प्रधानमन्त्री केपी ओलीले ऐतिहासिक अवसर गुमाइसके, राजनीतिले यू टर्न लिने तरखर थाल्यो।