रोशन कार्की :
सोनी राना नेपालकी पहिलो जेट ७५७ उडाउने महिला पाइलट हुन्। अहिले महिला पाइलट इन्स्ट्रटर सविना श्रेष्ठदेखि भावना पन्त, रिता प्याकुरेल, यसोधरा थापा, प्रशंसा श्रष्ठ, सरिना गुरुङजस्ता थुप्रै युवा महिलाहरु जेटदेखि जेटस्ट्रिम, हेलिकोप्टर उडाइरहेका छन्। महिलाहरुले गरेको यो उत्साहवर्धक छलाङ हो। सडकमा पनि छन् महिला ड्राइभरहरु। जो रिक्सा, टाँगा र राजधानीदेखि अन्य जिल्लाहरुमा सफा टेम्पो चलाइरहेका छन्। जुलो चौको, घाँस दाउरा गरेर जीवन बिताउने महिलाहरु बिस्तारै प्रशासनमा छिरे, महिला मैत्री संविधानको माग गर्दैथिए, आमाको नामबाट छोराछोरीको नागरिकता बन्नुपर्छ भन्दै थिए, अव परराष्ट्र मन्त्रालयको जागीरे भएर क्यारिएर डिप्लोम्याटसम्मको जिम्मेवारीमा महिलाहरु अग्रसर भइसकेका छन्। महिलाहरु राज्यका सबै संयन्त्रमा ३३ प्रतिशत होइन, सतप्रतिशत हिस्सेदारीको दावा गर्ने हैसियतमा पुगिसकेका छन्। महिलाहरुको यो प्रतिभा उत्साहवर्धक छ। मौका पाए महिलाले घरसंसारमात्र होइन, विश्वसंसारसम्म आफ्नो पहिचान र अस्तित्व रक्षा गर्नसक्षम छन् भन्ने उदाहरण हो यो।
हुन त नेपाली महिलाहरु बिरांगना नै हुन्। देशका लागि अंग्रेजसँग लड्ने हिम्मत देखाउने नेपाली महिलाभित्र परिवारमात्र होइन, देश पनि उत्तिकै सशक्त भएर बाँचेको छ। महिलाहरुलाई अव घर परिवारमा मात्र बाँधेर राख्न सक्ने स्थिति रहेन। महिलाहरु शिक्षामा जति तेज छन्, व्यहारमा जति सरल र सहज छन्, काममा पनि इमान्दार र प्रतिभावान छन् भन्ने उदाहरण कति छन् कति?
देश यो हालतमा पुगेको महिलाका कारण होइन। महिलालाई जहिले पनि हिंसामा पार्ने पुरुषहरुको सोच गलत छ। पुरुष नहुँदा महिलाले हलो जोतेर उब्जाउ गरे छ। घरमा लाशपर्दा लाश बोके, आगो झोसे र किरियाकर्म गरेर आफूलाई पुरुषभन्दा कम छैनन् महिला भनेर पनि देखाएकै छन्। हिजोका महिला कमजोर सोचमा थिए र रुन्थे बढी। आजका महिला समयसँगै अघि बढेका छन् र समय समयमा परिआउने हर जोखिम, खतरासँग पौंठेजोरी खेलेर अघि बढ्न तैयार छन्। धन्य महिला, धन्य महिलाका अनेक रुप। अनेक स्वरुप। सलाम छ महिलालाई। तर अझै समाजमा महिलालाई हेप्ने, खिल्ली उडाउने प्रचलन बाँकी छ। हवाइजहाज उडाउने महिला सम्मानित हुन्छिन्, सडकमा ट्याम्पु चालक महिलाको आफ्नै गुनासो छ– गुण्डा मोराहरुले हैरान पार्छन्। दुःख दिन्छन्। एकथरि जिस्क्याउँछन्, अर्कोथरि केको पैसा भनेर हेपेर हिड्छन्। प्रहरीले पनि दुःख दिन्छ, महिलामाथि अझै समान व्यवहार गर्ने बानी बसिसकेको छैन। सोनी, मुना, बिमला, सोनु, कल्याणी, राधा अनेक महिला राजधानीको सडकमा सफा टेम्पु दौडाइरहेका भेटिन्छन्। सबैको एउटै गुनासो छ– आइमाई भनेपछि हेप्ने प्रवृत्ति कहिले हट्ला? गरिखान पनि गाह्रो छ। कहिले चिट काटौं भनेर ट्राफिक पासो थापेर बस्छ, सामान्य गल्ती भयो भने २ सयको चिट काट्छ, बियर खान ५ सय लिन्छ। टेम्पु चलाएर दालभात खान त पुग्छ, तर बदमास र प्रहरीले गर्नुसम्म अन्याय गरिरहेको छ। महिलाहरुले सुरक्षित सवारी चलाइरहेका छन्, तर उनीहरु आफै सुरक्षित छैनन्। कहिले कहिले ग्याङ् गुण्डाहरुले पनि सताउँछन्। महिलालाई हेर्ने देष्टिकोण कहिले परिवर्तन होला हाम्रो समाजमा। महिलालाई आधा आकाश नमान्दासम्म, सम्मान गर्ने बानी नबस्दासम्म देशले प्रगति गर्नसक्दैन।