दोलखाको बैतेश्वर गाउँपालिका-२ मूलाबारीका दीपेन्द्र घिसिङले पाइलट पढ्नका लागि थालेको एक रुपैयाँ अभियानमा नेपाल तामाङ घेदुङ इजरायलले आर्थिक सहयोग गरेको छ । दीपेन्द्रको उक्त अभियानमा सघाउन नेपाल तामाङ घेदुङ इजरायलले ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
गत सोमबार बौद्धको चुच्चेपाटीस्थित घेदुङ कार्यालयमा नेपाल तामाङ घेदुङको संघीय अध्यक्ष मोहन गोले तमाङ, महासचिव जगतमान दोङ , घेदुङ इजरायलका पुर्व अध्यक्षहरु उर्मिला पाख्रिन तामाङ, कल्पना मोक्तान तामाङ र अनिता तामाङले घिसिङलाई सहयोग रकम हस्तान्तरण गरेको बताइएको छ ।
घेदुङ इजरायलका महासचिव सुनिल रुम्बाका अनुसार वर्तमान कार्यसमितिले ३० हजार र घेदुङ इजरायलको शैक्षिक कोषबाट २० हजार रुपैयाँ गरी जम्मा रु. ५० हजार सहयोग गरिएको हो । उक्त हस्तान्तरण कार्यक्रममा नेपाल तामाङ घेदुङ इजरायलकी पूर्व सल्लाहकार मिश्री योन्जन तामाङ, कान्छी घिसिङ तामाङ,सारा लामा तामाङ, अनु स्याङ्तान र पूर्व सदस्य सानुमाया तामाङ लगायतको सहभागी रहेको थियो ।
कमजोर आर्थिक अवस्थाको बाबजुद पनि पाईलट अध्ययनको लागि दोलखाका वैतेश्वरका दीपेन्द्रले एक रुपैयाँ अभियान सञ्चालन गरेका हुन् । अभियान सुरू गरेको चार महिनामै उनले ६१ लाख बढी रकम संकलन गरिसकेका दीपेन्द्रलाई निरन्तर सहयोग रकम जम्मा भईरहेको र उनको सानैदेखिको पाइलट बन्ने सपना साकार होस् भनि नेपाल तामाङ घेदुङ इजरायलले उज्वल भबिष्यको शुभकामना समेत ब्यक्त गरेको छ ।