Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

बराहक्षेत्र महाकुम्भ मेला आयोजना हुने

१५ बिहिबार , चैत्र २०८०२ बर्ष अगाडि

बराहक्षेत्र महाकुम्भ मेला आयोजना हुने

सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका-१ स्थित चतराधाममा महाकुम्भ मेला आयोजना हुने भएको छ । यही चैत्र २७ गतेदेखि वैशाख २८ गतेसम्म महाकुम्भ मेला आयोजना हुने भएको हो ।

बुधबार पत्रकार सम्मेलन मार्फत पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिले महाकुम्भ मेलामा ३० लाख पर्यटक आउने आकलन गरेको र सोहीअनुसार व्यवस्थापन थालिएको जानकारी दिएको छ । उक्त मेलामा आन्तरिक तथा बाह्य गरी ३० लाख पर्यटक आउने अपेक्षा सहित व्यवस्थापनका लागि विभिन्न २६ वटा उपसमिति गठन गरेको आयोजक समितिका सहअध्यक्ष तथा बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले जानकारी दिएका छन् ।

प्रमुख कार्कीले कुम्भमेला प्रारम्भ र अन्त्य भएको पाँच दिन अघिदेखि पाँच दिन पछिसम्म चतरा बजार क्षेत्रमा मदिरा र माछामासु बिक्रीमा प्रतिबन्ध लगाइने बताएका छन् । साथै उनले १२ वर्षमा लाग्ने पूर्णमहाकुम्भ मेलालाई सफल बनाउन कुम्भ क्षेत्रमा मदिरा र माछामासु नबेच्न सबैलाई आग्रह गर्दै मेला अवधिभर घर आँगन सफा राख्न, पुष्पयुक्त गमलाले पाहुनाको स्वागत गर्न,र सम्भव भएसम्म ‘होमस्टे’का रूपमा आफ्ना निवासलाई तयार गर्न समेत सबैलाई अनुरोध गरेका छन् ।

मेला तयारीसम्बन्धी ८० प्रतिशत काम सम्पन्न भएको र कुम्भमेलाले बराहक्षेत्र र धरान तथा आसपासका क्षेत्रको धार्मिक पर्यटन विकासमा सहयोग पुग्ने मेला मूल आयोजक समितिका उपाध्यक्ष बराहक्षेत्र–२ का वडाध्यक्ष होमप्रसाद गौतमले जानकारी दिएका छन् । साथै, हरेक १२ वर्षमा लाग्ने पूर्णमहाकुम्भ मेलाका बेला धरानको विजयपुरमा अवस्थित पिण्डेश्वर महादेवको दर्शन गर्न समितिले आग्रह गरेको छ ।

सप्तकोशी नदी किनारमा अवस्थित बराहक्षेत्र र धरानको पिण्डेश्वर धाम कुम्भमेलासँग जोडिएकाले यो क्षेत्रमा कुम्भमेला आयोजना हुँदै आएको हो । बराहक्षेत्रमा भने २०५९ सालदेखि कुम्भमेला आयोजना हुन थालेको हो । यहाँ प्रत्येक ६ वर्षमा अर्धकुम्भ र १२ वर्षमा पूर्णमहाकुम्भ मेला लाग्ने गरेको छ । उता भारतको चार स्थान इलाहावाद (उत्तर प्रदेश), उज्जैन (मध्य प्रदेश), नासीक (महाराष्ट्र) र हरिद्वार (उत्तराखण्ड)मा लामो समयदेखि कुम्भमेला आयोजना हुँदै आएको छ ।