Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

आज फागु पुर्णिमा तथा होलि पर्व मनाईदै

११ आइतबार , चैत्र २०८०२ बर्ष अगाडि

आज फागु पुर्णिमा तथा होलि पर्व मनाईदै

रङ्गहरुको पर्वको रुपमा मनाइने होलि पर्व आज नेपालको पहाडी जिल्लाहरुमा मनाईदै छ । आज पहाडी र भोलि तराईका जिल्लाहरुमा मनाईने यो पर्व असत्यमाथि सत्यको विजयको प्रतीक,सामाजिक तथा पारिवारिक एकताको रुपमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने गरिन्छ ।

आज काठमाडौँको वसन्तपुरमा गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजासहित टुँडिखेलमा लगी जलाउने प्रचलन छ । उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाउने धार्मिक विस्वास समेत रहेको पाईन्छ ।

फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरमा रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि शुरु भएको होलि पर्व आज पहाड र भोलि तराईमा धुमधामका साथ मनाईन्छ । 

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।

उक्त समयदेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएकाले उनको सम्झनामा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ । त्यस्तै द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको पाईन्छ ।

राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व रहेको पाईन्छ ।

त्यसैगरी आज फागु पर्वका अवसरमा सरकारले पहाडी र हिमाली क्षेत्रका ५६ जिल्लामा सार्वजनिक बिदा दिएको छ । देश र जनताको लागि सरकारका राष्ट्रपति, प्रधानमन्त्री, बिभिन्न रानीतिक दलका नेताहरुले होलि पर्वको अवसरमा शुभकामना सन्देश समेत दिएका छन् ।