Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

काठमाडौँ महानगरले सुलभ फार्मेसी सञ्चालन गर्ने

०१ बिहिबार , चैत्र २०८०७ महिना अगाडि

काठमाडौँ महानगरले सुलभ फार्मेसी सञ्चालन गर्ने

काठमाडौँ महानगरपालिकाले न्यूनतम मूल्यमा औषधि विक्री वितरण गर्ने योजनाअनुसार ‘सुलभ फार्मेसी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । महानगरले वार्षिक नीति तथा कार्यक्रम र बजेटबमोजिम सो कार्यक्रम कार्यान्वयनका लागि निर्देशिका तयार पारि सुलभ फार्मेसी सञ्चालन गर्ने भएको हो । 

महानगरको प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको अध्यक्षतामा बुधबार बसेको बैठकले निर्देशिका तयार गर्न कार्यदल गठन गर्दै सकेसम्म छिटो सुलभ फार्मेसी सञ्चालनका लागि निर्देशिका तयार गरिने बताएको छ । त्यसका लागि महानगरको कानून तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यको संयोजकत्वमा निर्देशिका मस्यौदा समिति गठन गरिएको छ ।

आचार्यको संयोजकत्वको समितिको सदस्यमा फर्मासिष्ट बाबुराम हुमागाईँ, संगीता माथेमा, चैन बज्राचार्य, मणि लामा र स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जन रहेका छन् । साथै  निर्देशिकाको मस्यौदा तयार गर्न उक्त कार्यदललाई ७ दिनको समयसिमा दिइएको छ । कार्यक्रमका लागि महानगरले यसवर्ष ६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

सुलभ फार्मेसी सञ्चालन गर्न चालु आर्थिक वर्षमा महानगरपालिकाले ५ वटा फार्मेसी सञ्चालन हुने गरी काम गर्ने र गुणस्तरीय,दिगो कार्यक्रम यसको न्यूनतम आधार रहेको बताईएको छ ।  
बजारमा शिक्षित नागरिकहरू पनि फार्मेसीबाट ठगिनुपर्ने अवस्था रहेकाले त्यसलाई व्यवस्थित गर्न समेत महानगरपालिकाले सुलभ फार्मेसी सञ्चालन गरी नागरिकलाई राहत दिनुपर्ने अधिकृत परियार बताएका छन् ।

हाल उपभोक्ताले औषधिको मूल्यभन्दा ४० प्रतिशतभन्दा बढीसम्म मूल्य तिर्नुपर्ने बाध्यता रहेको र कतिपय औषधिमा चार गुणासम्म मूल्य निर्धारण भएर बजारमा आएको फर्मासिष्टहरुको भनाइ थियो ।

फर्मासिष्टहरुका अनुसार नेपालमा करिब १८ हजार ब्राण्डका औषधि आयात हुने गरेको र त्यसमध्ये नेपालमा उत्पादित १ सय २८ र विदेशी ३ सय ५० कम्पनीका औषधिहरू रहेको बताईएको छ  । वार्षिक करिब ७० अर्बको औषधि नेपालमा खपत हुने गरेको बताईएको छ ।