Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

'सचेत भएर कलम चलाउन पत्रकारलाई आग्रह'

३० बुधबार , फाल्गुण २०८०७ महिना अगाडि

'सचेत भएर कलम चलाउन पत्रकारलाई आग्रह'

नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले पत्रकारले लेख्ने समाचारसामग्रीले समग्र देशको प्रतिष्ठामा फरक पार्ने बताएका छन् ।

प्रेस काउन्सिल नेपालमा बुधबार नयाँ सूचीकरण भएका अनलाइनका सञ्चालक/सम्पादकका लागि भएको अभिमुखीकरण कार्यक्रममा बोल्दै महासचिव पुरीले आफूले लेख्ने सामग्रीबाट देशलाई अहित नहोस् भन्नेतर्फ सचेत भएर कलम चलाउन पत्रकारलाई आग्रह गरेका छन् ।

पत्रकारले बदनियतपूर्वक लेख्ने वा अन्य कुनै काम गरे त्यस्ता कामले देशकै बदनाम हुने उनको चिन्ता थियो । अभिमुखीकरण कक्षामा महासचिव पुरीले पत्रकार आचारसंहिताका बुँदाबारे प्रष्ट पारेका थिए ।

कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका सदस्य रामप्रसाद दाहालले पत्रकारले आफ्नो धर्म बिर्सन नहुने बताए । सत्य र सन्तुलित समाचार दिनु पत्रकारको मुख्य धर्म भएको उनको भनाइ थियो ।

पत्रकार आचारसंहितासँग जोडिएका विभिन्न निर्देशिकाका प्रावधानबारे प्रष्ट पार्दै उनले पत्रकारिताको मर्मअनुसार नचले त्यो पत्रकार भइरहन नसक्ने बताए । ३५ वटा अनलाइनका सञ्चालक/सम्पादकको सहभागिता रहेको कार्यक्रमको सहजीकरण काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले गरेका थिए ।

कार्यक्रममा सहभागीले उठाएका जिज्ञासाको जवाफ दिँदै सहप्रशासकीय अधिकृत बोहराले काउन्सिलले उजुरी र स्वअनुगमनका आधारमा सञ्चार माध्यमका सामग्रीमाथि अनुगमन गरिरहेको बताए ।

काउन्सिलले २०७८ चैतदेखि नयाँ सूचीकरण हुने अनलाइनका सञ्चालक/सम्पादकलाई अभिमुखीकरण दिँदै आएको छ । हालसम्म ११ सय बढी अनलाइनका २ हजार बढी सञ्चालक/सम्पादकले यस्तो कक्षा लिएका छन् ।

पछिल्लो समय युट्युबमार्फत् भ्रमपूर्ण अतिरञ्जित सामग्री सम्प्रेषण गर्ने र समाचार हुबहु सार्ने (कपि एण्ड पेस्ट) समस्या बढेपछि काउन्सिलले सुक्ष्म अनुगमनलाई पनि तीव्र बनाएको छ ।