Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

लिफ्टसहितको अपाङ्‍गतामैत्री आकासे पुल बन्ने

३० बुधबार , फाल्गुण २०८०७ महिना अगाडि

लिफ्टसहितको अपाङ्‍गतामैत्री आकासे पुल बन्ने

नेपालमा पहिलो पटक ललितपुर महानगरपालिकाले लिफ्टसहितको अपाङ्‍गतामैत्री आकासे पुल निर्माण गर्ने भएको छ । महानगरले चक्रपथको कुसुन्तीमा उक्त आकाशे पुल निर्माण गर्न लागेको हो ।

एक बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित महानगर प्रमुख चिरीबाबु महर्जनले उक्त पुलको शिलान्यास गरेका छन् । पुल निर्माणका लागि सडक विभागले महानगरलाई गत भदौमा सहमति दिएको थियो । आठ मिटरभन्दा ठूला सडकको क्षेत्राधिकार स्थानीय तहसँग नभए पनि उक्त क्षेत्रमा अत्यधिक दुर्घटना हुने गरेकाले सडक सुरक्षालाई मध्येनजर गर्दै महानगरले पुल निर्माण अनुमति माग गरेको थियो ।

पुल निर्माणका लागि महानगरले संविधानले व्यवस्था गरेबमोजिम समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्त अनुसार सडक विभागसँग अनुमति माग गरेको र सडक विभागको अनुमतिसँगै पुल शिलान्यास गरिएको बताईएको छ ।

आयोजना प्रमुख तथा इन्जिनियर प्रदीप पौडेलका अनुसार सडक विभागबाट अनुमति प्राप्त यो आयोजना निर्माणका लागि ठेकेदार कम्पनी लामा प्रगति–मनी बुद्ध जेभी, काभ्रेपलाञ्चोकसँग ४ करोड ६८ लाख ९ हजार ५ सय ६१ रुपैयाँको लागतमा १ वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ ।