Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कान्तिराजपथ चैत १ गतेदेखि ४५ दिन बन्द

२८ सोमबार , फाल्गुण २०८०७ महिना अगाडि

कान्तिराजपथ चैत १ गतेदेखि ४५ दिन बन्द

कान्तिराजपथ अन्तर्गत ललितपुरको टीकाभैरव-हेटौँडा सडक खण्डको केहि भाग सडक स्तरोन्नति गर्न लागिएकाले उक्त सडक चैत १ गतेदेखि वैशाख १५ सम्म बन्द हुने भएको छ । टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ सडक ४५ दिन बन्द हुने भएको हो ।  

ललितपुरको काल्चे खण्डको सडक चौडा गर्नका लागि कान्तिराजपथ बन्द गरिने कान्ति राजमार्ग सडक योजनाका इन्जिनियर रवीन्द्र महर्जनले जानकारी दिएका छन् । उक्त सडक खण्ड मर्मतसम्भारका लागि काल्चेदेखि बगुवा खण्ड ४५ दिनसम्म बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म बन्द हुने बताईएको छ ।

उक्त सडकको करिब १ दशमलव ५ किलोमिटर सडक खण्डको साँघुरो ठाउँमा सडक चौडा गर्न लागिएकाले सडकमाथिका कडा चट्टान कटिङ गर्ने निर्णय भएको र त्यसका लागि ४५ दिनको समय लाग्ने अनुमान गरिएको छ । फागुन १६ गते ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले सडक स्तरोन्नति गर्न बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सवारी आवत जावतमा रोक लगाउने निर्णय गरिएको हो ।

यो सडकखण्ड भई चल्ने सम्पूर्ण सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गर्दै बैठकले कान्तिराजमार्ग खण्डमा एम्बुलेन्सलगायत अन्य अत्यावश्यक सेवाका यातायातलाई सञ्चालन गर्न सहजीकरण गर्ने निर्णय गरेको छ । उक्त कान्तिराजमार्गको हेटौँडा बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्मको लम्बाइ ९२ किलोमिटर रहेको छ ।