Advertisement Banner
Advertisement Banner

१६ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

क्यान्सर संक्रमित भए जीवन खान्छ

२७ सोमबार , पौष २०७२९ बर्ष अगाडि

तत्काल राज्यले मधेसी मोर्चालाई संवैधानिक मूलधारमा नल्याउने हो भने मधेसभित्र पाक्दै गएको असन्तुष्टि र बिखण्डनको पिलो देशका लागि क्यान्सरजस्तो डरलाग्दो रोगको संक्रमणमा परिणत हुनेछ। क्यान्सर संक्रमित भए जीवन खान्छ, राजनीतिक क्यान्सरले देश खानेछ। यसतिर खोई गम्भीरता?
एक मधेस नभए एक नेपाल पनि रहन्न भन्ने महन्थ ठाकुर, मधेसी एकतावद्ध पार्दै जयप्रकाश गुप्ता, मधेस राज्यका लागि सैनिक लडाकासहितको मोर्चावन्दी गर्दै रहेका सिके राउन र ९० भन्दा बढी भूमिगत सशस्त्र समूहहरुवीच भित्री तालमेल छैन भन्न सकिन्न। भारत भनिरहेको छ– आन्तरिक राजनीतिक झगडा मिल्दा नाकावन्दी स्वतः समाप्त हुन्छ। तर भारत प्रेरित र संरक्षित मधेसी मोर्चा ५ महिना भइसक्दा पनि आन्दोलनबाट थाकेको छैन। मोर्चाले झन कडा आन्दोलनको कार्यक्रम घोषणा गर्‍यो।
र, सत्ताधारी दलहरु कुनै पनि हालतमा सिमांकन, मधेसका जिल्लामात्र जोडिएका एक वा दुई मधेस प्रदेश दिन तैयार छैनन्। र, जनमतको दावी गर्ने सरकार एक नेपालका लागि कडा सुरक्षात्मक कदम चाल्न सकेकोे छैन। \
उपप्रधानमन्त्री सीपी मैनाली भन्छन्: बिखण्डनवादीलाई जेल हाल्ने गृहमन्त्रालयले तैयारी गर्दैछ। संविधान घोषणा भएको ४ महिना भइसक्दा पनि संविधानको कार्यान्वयन र राष्ट्रियताको जगेर्नाका लागि निर्णय गर्न नसक्ने केपी ओलीको सरकार आखिर कुन साइतका जुराउन भद्रो हेरिरहेको छ?
मधेस आन्दोलन, भारतीय नाकावन्दी, संविधान, बिबादमा संवाद र संवादमा बिमतिका कारण, प्रकरण र मधेसी मोर्चाको थप आन्दोलन घोषणा र मधेसमा भइरहेको फौजी भर्ति, तालिम र भूमिगत सशस्त्र समूहहरुको सक्रियताका बारेमा चीन, भारत, अमेरिका र पश्चिमा मुलुकहरुले थप चासो दिन थालेका छन्। आखिर नेपालमा जाति, भाषा, क्षेत्र, लिङ्गका वीच भेदभाव छ, भेदभाव खसजातिले गरे भनेर प्रमाणित गर्न खोजिएको छ र सुरक्षा निकायमासमेत आरक्षण गरेर संसारमा कहीँ नभएको सुविधा दिंदासमेत विभेदकारीको आरोप लागिरहेको छ भने दोष संघीयतामा, गणतन्त्रमा, नेतातन्त्रमा, निर्णय क्षमतामा छ कि नयाँ संविधानमा?
देशमा असामान्य स्थिति सिर्जना भइसक्यो। भित्रभित्रै बिखण्डनका आवाजहरु, बिभाजनका मानसिकताहरु विकसित भएका छन् र जाति, भाषा, क्षेत्र र धर्ममात्र होइन, गणतन्त्र मान्ने र नमान्नेवीचसमेत मतभिन्नता बढ्दै गएका छन्। यता विप्लवले समानान्तर राज्यसत्ता, जनसरकार घोषणा गर्दैछन्। केपी ओलीको १६ दले सरकार मादलजस्तो बज्छ मात्र, केही गर्न सक्षम देखिदैन। त्यसमाथि ओलीकै अध्यक्षता रहेको एमाले पार्टीमा समेत दुई पूर्वअध्यक्ष झलनाथ खनाल र माधव नेपालले निरंकूश बनेको आरोप लगाइसके। ३८औं प्रधानमन्त्री केपी ओली पनि उही ड्याङका मूला, कानै चिरिएका जोगी साबित हुनपुगेका छन्।