Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

सरकार र दुग्ध सहकारी बीच वार्ता, पाँच बुँदे सहमति

२० आइतबार , फाल्गुण २०८०२ बर्ष अगाडि

सरकार र दुग्ध सहकारी बीच वार्ता, पाँच बुँदे सहमति

आन्दोलनरत केन्द्रीय दुग्ध सहकारी संघ र सरकार बीच शनिबार साँझ वार्ता भएको छ । सरकारका तर्फबाट कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसालको उपस्थितिमा सहकारी संघ बीच भएको वार्तामा पाँच बुँदे सहमति भएको हो ।

सरकारसँग भएको वार्तामा किसानले दूध बिक्री गरेबापत पाउने रकमको भुक्तानी हरेक उद्योगीले आगामी चैत २१ गतेसम्ममा गरिसक्नेलगायतका पाँच बुँदे सहमति भएको केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरले जानकारी दिएका छन् ।

अध्यक्ष कुँवरले उद्योगले सहकारीबाट खरिद गरेको दूधको परिमाणलाई नघटाई मिल्क होलिडे नहुने गरी दूध खरिद गर्ने, उद्योगीको दूध तथा दुग्धजन्य पदार्थ निर्यातका लागि कृषि तथा पशुपक्षी मन्त्रालयले समन्वय गर्ने, निर्यात प्रवर्द्धनका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्ने, पशुपालक किसानलाई सरकारले दिँदै आएको बीमा कार्यक्रमलाई निरन्तरता दिने र केन्द्रीय दुग्ध सहकारी संघले राखेका माग सम्बोधन गर्नका लागि पहल गर्ने लगायतको सहमति भएको बताए ।

वार्तामा सरकारका तर्फबाट मन्त्री भुसाल सहित कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा रेवतीरमण पौडेल र केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरलगायतको सहभागिता रहेको बताईएको छ । दूधको भुक्तानी रोकिएको भन्दै संघले यही फागुन ८ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएको र अहिलेको सहमति पछी आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको बताएको छ ।