Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

प्रधानमन्त्रीलाई पूविवि प्राध्यापक संघको ध्यानाकर्षण पत्र

१८ शुक्रबार , फाल्गुण २०८०२ बर्ष अगाडि

प्रधानमन्त्रीलाई पूविवि प्राध्यापक संघको ध्यानाकर्षण पत्र

प्रधानमन्त्री एवं पूर्वाञ्चल विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डलाई सोहि विश्वविद्यालयका उपकुलपतिमा कार्यरत प्राध्यापकलाई विश्वविद्यालयको नेतृत्व गर्न दिनुपर्ने माग गर्दै पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघले ध्यानाकर्षण पत्र बुझाएको छ । संघले प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति प्रचण्डलाई ध्यानाकर्षण पत्र  बुझाउदै उक्त माग गरेको हो ।

विश्वविद्यालयको उपकुलपतिमा कार्यरत प्राध्यापकलाई काम गर्ने अवसर दिनुपर्ने भन्दै संघले त्यहीँ कार्यरत प्राध्यापकलाई नै विश्वविद्यालयको नेतृत्व दिनुपर्ने माग गरेको हो । यसअघि उपकुलपतिका रूपमा आएका पर्यटकरुपी बाह्य व्यक्तिहरूले विश्वविद्यालय तहसनहस पारेकाले त्यहि कार्यरतलाई अवसर दिनुपर्ने संघका अध्यक्ष यज्ञप्रसाद जमरकट्टेल र महासचिव प्रमोदकुमार यादवद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

विश्वविद्यालय भित्रकै प्राध्यापकहरू नेतृत्वका लागि सक्षम रहेकाले पूविवि भित्रका प्राध्यापकहरूबाट उपकुलपति नियुक्त गनुपर्नेमा पनि संघले जोड दिएको छ । संघले विश्वविद्यालयलाई प्राज्ञिक विशिष्टताको रूपमा विकास गर्न विश्वविद्यालयमा कार्यरत सक्षम प्राध्यापकहरूबाट रिक्त हुन गइरहेको उपकुलपति पदमा नियुक्त गर्न आग्रह गरिएको छ ।

हालका उपकुलपति प्राध्यापक डा. यादवराज कोइरालाको आज कार्यकाल सकिन लागेकाले उक्त पदमा नेपाल सरकारद्वारा खुला प्रतिस्पर्धा उपकुलपति छनोट प्रक्रियाका लागि गरिएको आह्वानमा १८ जनाले आवेदन दिएका छन् । विश्वविद्यालय बाहिरका प्राध्यापकलाई नियुक्ति गर्दा विश्वविद्यालयलाई समय नदिने, बारम्बार भ्रमणमा जाने भएकाले प्राज्ञिक विशिष्टता हासिल गर्ने तर्फ काम नगर्ने संघको भनाइ छ ।

त्यस्तै संघले छोटो समय विश्वविद्यालयमा बस्ने र अनावश्यक छलफलमा समय व्यतीत गर्ने, ऐन तथा विनियमको ख्याल नगर्ने, पहुँचको आधारमा सङ्काय तथा क्याम्पसलाई टुक्राई पदाधिकारी नियुक्ति गरी अनावश्यक खर्च बढाउने जस्ता कार्यलाई सुधार गरि कुशलतापूर्वक विश्वविद्यालय सञ्चालन गर्न कार्यरत प्राध्यापकहरूलाई विश्वविद्यालयको नेतृत्व दिनुपर्ने बताईएको छ ।