पृथ्वीनारायण शाह र महेन्द्र राष्ट्रनायक हुन्। यसो भन्ने व्यक्ति केपी ओली सरकारका उपप्रधानमन्त्री सीपी मैनाली हुन्। पुस २७ लाई सरकारले एकता दिवसका रुपमा मनाउन राप्रपा नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले प्रस्ताव गर्दा मालेका अध्यक्ष तथा उपप्रधानमन्त्री सीपी मैनालीले समर्थन गरे तर प्रधानमन्त्री केपी ओलीले माओवादी मन्त्रीहरुसँग श्वरमा श्वर मिलाएर निर्णय अवरुद्ध पारे।
प्रधानमन्त्री केपी ओलीले चाहेको भए २०६३ सालदेखि अवरुद्ध भएको पृथ्वी जयन्ती तथा एकता दिवस पुनर्स्थापित हुनसक्थ्यो, उनले इच्छाशक्ति देखाएनन्। माओवादी त पृथ्वीनारायण शाहको शालिक फोड्ने पार्टी, माओ, लेनिन, मार्क्स मान्नेहरुले किन देशको एकीकरण गर्ने बडामहाराजाधिराजप्रति गर्व गर्थ्यो र? तैपनि ओली अथवा एमाओवादीहरु आफूलाई स्वाधीनता, सार्वभौमिकता र राष्ट्रवादी भनेर थाक्दैनन्। तिनको यो वाणीको आधार विन्दू तिनै पृथ्वीनारायण शाह हुन् भन्ने यिनलाई कहिल्यै सत्यवोध भएन।
नेपाल एकीकरणका अभियन्ताका रुपमामात्र मानिदिएको भए पनि देशमा एकताको मौलो गाडिनसक्थ्यो। त्यति पनि गरेनन् ओली र प्रचण्डहरुले। ध्रुवसत्य पनि नसकार्नेले भ्रम छरेर पार्टी चलाइरहने? राष्ट्रियता र एकताको मनोवल नउठ्नुको कारण यो पनि हो।
सीपी मैनाली भन्छन्– राजा महेन्द्रले नेपाल टुक्य्राउन दिएनन्। भारतको योजना तुहाइदिए। भारतको चंगुलमा रिसकेको नेपाललाई सार्वभौम राष्ट्रका रुपमा स्थापित गरे। यसकारण महेन्द्र पनि नेपालका राष्ट्रनायक हुन्।
र, पूर्वराजाको सन्देश
पूर्वराजा ज्ञानेन्द्रले भनेका छन्– मैले जनताको चाहनाअनुसार दरवार छाडेको हुँ, नेपाली घरवार छाडेको होइन। पुस २७ गते पृथ्वी जयन्तीको अवसर पारेर पूर्वराजाले वक्तव्य जारी गरेका छन्। वक्तव्यमा भनिएको छ–
'शाहवंशीय राजाहरुले जनताको इच्छा, चाहना र भावनाको कदर गर्ने परम्परालाई निरन्तरता दिंदै राष्ट्र हित र राष्ट्रवासीको सुख, सम्वृद्धि र आत्मीय सन्तुष्टिका निम्ति जनताको नासो जनतालाई सुम्पेर मैले दरबार छाडेको हुँ। तर सबैले विचार गर्नुपर्ने कुरा हो कि मैले नेपाली घरबार छाडेको छैन अनि नेपाल र नेपालीको 'आधारको भार' पनि परित्याग गरेको छैन। पृथ्वी जयन्तीको यस ऐतिहासिक क्षणमा सधैं नै हामीलाई मिलिरहने चेतना र प्रेरणाको कुरा राष्ट्रिय एकता र सदाशयता नै हो। हिमाल, पहाड र तराईका हामी सबै नेपाली यही फूलबारीमा जति बढी समाहित हुन सक्छौं उति नै हाम्रो गौरवशाली अस्तित्व तथा स्वाभिमानको नेपालीत्व उचो रहन्छ। यस प्रकारको युग चेतना हुँदाहुँदै पनि अहिले हामी किन, कुन्नि दिग्भ्रमित छौं। सोचनीय कूरा छ, देशभित्र अहिले विधि व्यवस्था, भूरचना र शासन प्रशासनका कुरालाई लिएर जे जस्ता बखेडा खडा भएका छन् यो कदापि राम्रो कुरा होइन।'
पूर्वराजाले भनेका छन्– 'आपसी सद्भाव खल्बलिएर जनसाधारणको जीवन व्यवहारमा आर्थिक संकट, चरम महंगी, अभाव, अनुत्पादन र वाह्य निर्भरताबाट यतिखेर थप मार परिरहेको छ। नेपाली जनताले अहिले साँझ बिहान छाक टार्न र सामान्य रुपले जीवन धान्न पनि धौधौ परिरहेको छ, त्यो गम्भीर चिन्ताको विषय हो। अब नेपाली जनताले को कसबाट के कस्तो दायित्व, भूमिका र भरोसा चाहेका छन्, खुलस्त हुनुपर्दछ भन्ने पनि समयको माग छ, नेपाली भएर सोच्ने, सम्झने दिन पुस २७ हो। यही दिन यहाँको पवित्र भूमिमा जन्मिएका हाम्रा बडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट नै हाम्रो यो आधुनिक राष्ट्रको संरचना र संयोजन भएको हो।'
शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेत। यिनी भन्छन्– राजतन्त्र फर्काउन जनता सडकमा उत्रिनेवाला छन्। राजतन्त्र र हिन्दूराष्ट्र मुख्य एजेन्डा भएको चौथो राजनीतिक शक्ति राप्रपा नेपाल त गणतन्त्र र धर्मनिरपेक्ष संविधान अङ्भर गर्दै सरकारमा गइसक्यो। यिनी राजतन्त्र फर्कन्छ भनिरहेका छन्। खारेज भइसकेको राजतन्त्र कसरी व्यूँतन्छ, यसको योजना र रणनीतिबारे उनको भनाई छ– जनता उत्रिनेवाला छन्। अनिलको दावी छ– संविधानमा राजतन्त्र हट्यो होला, जनताको मनबाट हटेको छैन। हामी वैदिक धर्मलाई टेकेर राजसंस्था पुनर्स्थापित गर्छों। हेरौं वैदिक धर्म कसरी जुर्मुराउँदो रहेछ?