Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चार हजार मिटरब्याजपीडित काठमाडौँमा

१० बिहिबार , फाल्गुण २०८०८ महिना अगाडि

चार हजार मिटरब्याजपीडित काठमाडौँमा

पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट न्यायको माग गर्दै एकसाथ पैदलमार्चमा निस्किएका चार हजार मिटरब्याजपीडितहरू हिजो साँझा काठमाडौँमा आईपुगेका छन् । माघ १६ गते हिडेका उनीहरु २३ दिनको पैदल यात्रापछि हिजो साँझ काठमाडौं आई पुगेका हुन् ।

न्यायको माग गर्दै पूर्व र पश्चिमबाट एकसाथ पैदलमार्चमा निस्किएका उनीहरु मिटर ब्याजी साहूको पासोबाट छुटकारा पाउन माग गर्दै आएका छन् । २३ दिन लामो पैदलयात्रा गर्दै निरन्तर सडकमै गाँसबास गरेर आएका उनीहरूले बुधबार राति त्रिभुवन पार्कको चिसो भुँइमा रात कटाएको बताईएको छ ।

उनीहरूले आज बिहीबार सिंहदरवार मार्च गर्दै सरकारलाई झकझक्याउन र न्यायका लागि दबाब दिन थानकोटदेखि सिंहदरवारसम्म पैदलमार्च गर्ने कार्यक्रम रहेको बताईएको छ । यसअघि सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा मिटरब्याजपीडित जाँचबुझ आयोग गठन गरेको थियो ।

तीन वर्षदेखि निरन्तर संघर्ष गर्दै आएका पिडितहरुले पटक–पटक आन्दोलन गरेको र सरकारसँग वार्ता पनि भएको तर सरकारले न्याय दिन नचाहेको उनीहरुको आरोप छ । सरकारले जाँचबुझ आयोग बनाएर ३० हजार पीडितको उजुरी लिए पनि कारबाही नगरेका कारण फेरि संघर्षमा उत्रिएको मिटरब्याज तथा ठगीविरुद्ध किसान संघर्ष समितिका प्रवक्ता नीर्ग नवीनले बताए ।

उनले तराईका २० जिल्ला र भित्री मधेशका आठ गरी २८ जिल्लाका पीडितहरूले यसपटक एकसाथ देशव्यापी पैदलमार्च गरेको बताउदै उनीहरूले ६ प्रदेशका २३ जिल्ला पार गरेर काठमाडौं आइपुगेको पनि बताए । आज थानकोटदेखि सिंहदरबारसम्म मार्च गर्ने र शुक्रबार ऐक्यबद्धता सभा गर्ने उनको भनाई छ ।

त्यसैगरी समितिले मिटरब्याजपीडित किसान, मजदुर, साना व्यवसायी र सबै खाले वित्तीय शोषणबाट उत्पीडितहरूको न्यायका लागि संस्थागत र व्यक्तिगत प्रतिनिधित्वसहित मिटरब्याज पीडितविरुद्धको न्याय मार्चलाई ऐक्यबद्धता जनाउन आग्रह गरिएको छ । यसअघि गत चैतमा पनि मिटरब्याजपीडितहरू पैदलै काठमाडौं आएका थिए ।

यसअघि मंगलबार देशभरका लघुवित्त पीडितहरू काठमाडौं आइपुगेका थिए । उनीहरुले लघुवित्तीय संस्थाहरूले बढी ज्यादती गरेको हुनाले आन्दोलन गर्नुपरेको बताएका छन् ।