Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

काभ्रेमा नागरिकताको प्रतिलिपी लिनेको चाप बढ्दो

०८ मंगलबार , फाल्गुण २०८०२ बर्ष अगाडि

काभ्रेमा नागरिकताको प्रतिलिपी लिनेको चाप बढ्दो

काभ्रेपलाञ्चोक जिल्लामा विदेशीले नागरिकता लिएको खुलासा भएसँगै नागरिकता बनाउनेहरु भन्दा प्रतिलिपी लिनेहरुको संख्या बढेको पाइएको छ । प्रशासनले कडाई गरेपछि विगत ७ महिना यता नयाँ बनाउने भन्दा प्रतिलिपी लिनेको सङ्ख्या वृद्धि भएको हो ।

‘प्रतिलिपी धेरै बनाउनुमा राष्ट्रिय परिचयपत्र तथा राहदानी मुख्य कारण हो’–सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले भने–‘राहदानी र राष्ट्रिय परिचयपत्र बनाउने क्रममा नागरिकतामा कम बुझिने अक्षरहरुलाई प्रष्ट बुझिने देखाउन अर्थात तथ्य तथ्यांकलाई समेत चुस्त दुरुस्त देखिने गरी राख्ने प्रयोजनका कारण प्रतिलिपी लिनेहरुको संख्या बढेको हो ।’ चालु आर्थिक वर्ष २०८०/२०८१ को माघ मसान्तसम्म जिल्लामा प्रतिलिपी लिनेहरुको संख्या ५ हजार ८ सय ९५ रहेको छ ।

चालु आर्थिक वर्षको सोहि अवधीमा ५ हजार ७ सय ४० जनाले मात्रै नयाँ नागरिकता बनाएका छन् । १ सय ५५ जनाले नयाँ भन्दा प्रतिलिपी बढी लिएका छन् । माघ महिनामा मात्रै ९ सय ३९ जनाले नयाँ नागरिकता बनाउँदा ९ सय १३ जनाले प्रतिलिपी नागरिकता लिएका छन् । त्यस्तै ३ जनाले नागरिकता परित्याग गरेका छन् ।

यो संगै जिल्लामा नागरिकता परित्याग गर्नेहरुको संख्या २१ पुगेको छ । माघ महिनामा नागरिकता परित्याग गरी गैर आवासिय नागरिकता लिनेको संंख्या ३ पुगेको छ । हालसम्म २६ जनाले गैर आवासिय नागरिकता प्राप्त गरेको पनि जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । त्यस्तै ९ वटा नागरिकता चालु वर्षमा रद्द गरिएको र ३ जनाले अगिंकृत नागरिकता पाएका छन् ।

जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण बुझाउने ब्यक्तिहरुको संख्या चालु आर्थिक वर्षको ७ महिनामा ११ हजार १ सय १६ पुगेको छ । माघ महिनामा १ हजार ३ सय ८५ जनाले विवरण भरेका छन् । विवरण बुझाएका मध्ये ७ सय ४३ जनाले परिचयपत्र प्राप्त गरेका छन् । माघ महिनामा ४२ जनाले परिचयपत्र लिएका छन् । पटक पटक सूचना प्रकाशन गर्दा पनि नागरिकहरु परिचयपत्र लिन नआएको प्रशासनले जनाएको छ ।