Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

अनलाइनबाट पुलिस रिपोर्ट लिनेको संख्या साढे ५ लाख नाघ्यो

०२ बुधबार , फाल्गुण २०८०८ महिना अगाडि

अनलाइनबाट पुलिस रिपोर्ट लिनेको संख्या साढे ५ लाख नाघ्यो

चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ७ महिनामा साढे ५ लाख भन्दा बढीले अनलाइनबाट पुलिस रिपोर्ट लिएका छन् । नेपाल प्रहरीले प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) अनलाइनबाटै लिने व्यवस्था गरेसंगै उनीहरुले उक्त सुविधा लिएका हुन् ।

अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) लिने व्यवस्था गरेको पछिल्लो ७ महिनामा ५ लाख ५० हजार ६० जनाले यस्तो रिपोर्ट लिएको बताईएको छ । प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा ५ लाख ५० हजार ६० जनालाई अनलाइनबाट पुलिस रिपोर्ट उपलब्ध गराएको हो ।

उक्त अवधिमा ७ लाख १० हजार ९ सय ४४ जना नेपाली तथा विदेशी नागरिकहरूबाट अनलाइन आवेदन प्राप्त भएका थियो । तीमध्ये १ लाख ४४ हजार २ सय १२ वटा आवेदन रद्द भएका थिए भने १६ हजार ६ सय ७२ आवेदन कार्यान्वयनको क्रममा रहेको बताईएको छ ।

विभिन्न प्रयोजनका लागि पुलिस रिपोर्ट लिनका लागि अनलाइन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई नेपाल प्रहरीले चारित्रिक प्रमाणपत्र उपलब्ध गराउने गरेको छ । उक्त सेवा लिनको लागि प्रहरीको वेबसाइटबाट सेवाग्राहीले जुनसुकै ठाउँबाट अनलाइन फर्म भर्न सक्नेछन् ।

स्वदेशमा भएका नेपाली नागरिकहरूले अनलाइन निवेदन दिँदा राहदानी, नागरिकता, विवाहितको हकमा विवाह दर्ताको स्क्यान कपि र हालसालै खिचिएको पासपोर्ट साइजको रंगीन फोटो समावेश गर्नुपर्ने हुन्छ । सबै कागजात पुरा गरि निवेदन पेश गरेको करिब ५ दिनभित्र आवश्यक प्रक्रिया पूरा भएपछि निवेदककै युजर आइडीमा प्रहरी रिपोर्ट पठाइने व्यवस्था गरेको छ ।

त्यसैगरी आवश्यक कागजातहरू सहितको सेवाग्राहीको आवेदन विवरण ठिक नभएमा वा संदिग्ध व्यक्तिसँग नाम मिल्न गएमा आवेदन दिने र मुद्धा चलेका व्यक्ति एकै हुन/होइनन् ? यकिन गर्नका लागि थप अनुसन्धान गर्नुपर्ने भएकोले केही समय लाग्ने बताईएको छ ।

अनलाइनबाट प्रहरी चारित्रिक प्रमाणपत्र वितरण सुरुवात २०७६ असोज २४ गतेदेखि भएको हो । त्यस समयदेखि हालसम्म ३१ लाख ४० हजार ९८ आवेदन परेको छ । जसमध्ये स्वदेशबाट  २८ लाख ९५ हजार २०२ र विदेशबाट २ लाख ३६ हजार १० आवेदन दिएका थिए । साथै, विदेशी नागरिकबाट ७ हजार ८ सय ९९ र शरणार्थीबाट ९ सय ८७ वटा आवेदन परेको बताईएको छ ।

हालसम्म २३ लाख १७ हजार ६ सय ७३ जना स्वदेशी तथा विदेशी नागरिकहरूलाई प्रहरी चारित्रिक प्रमाणपत्र उपलब्ध गराइएको छ । हाल दैनिक ३ हजार ५ सयदेखि ५ हजार ३ सयसम्म अनलाइन आवेदन प्राप्त हुने र तीमध्ये सामान्यतया ४ हजार प्रमाणपत्र उपलब्ध गराइने गरिएको छ ।

प्रहरी रिपोर्ट सम्बन्धी काम नेपाल प्रहरी प्रधान कार्यालय सिआरएस (क्रिमिनल रेकर्ड सिस्टम) शाखाको सहयोगमा चालचलन शाखाले नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले गर्ने गर्दछ ।