Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भ्रामक समाचार लेखिएकोमा गाउँपालिकाको आपत्ति

१९ शुक्रबार , माघ २०८०९ महिना अगाडि

भ्रामक समाचार लेखिएकोमा गाउँपालिकाको आपत्ति

नुवाकोटको ककनी गाउँपालिकाले पालिकाका विषयमा भ्रामक समाचार प्रकाशन भएको भन्दै आपत्ति जनाएको छ । पालिकाका अध्यक्ष सुमन तामाङ सज्जन र निमित्त प्रशासकीय अधिकृत ऋषि अधिकारीले विज्ञप्ति जारी गर्दै एक अनलाइनमा प्रकाशित सडक निर्माणमा कमिसनको कुरा नमिलेपछि टेण्डर रद्द भएको भन्ने समाचार गतल र भ्रामक भएको भन्दै आपत्ति जनाएका हुन् ।

‘ककनी गाउँपालिकाको बारेमा प्रकाशन भएको समाचार प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त अनलाइन मिडियामा प्रकाशित कमिसन नमिलेर ठेक्का रद्द गरिएको भन्ने विषयमा गत आर्थिक वर्ष २०७९÷८० मा ककनी गाउँपालिकाको वडा नं २ को काउले चित्रे कुले गैरीखर्क मोटरबाटोलाई कालोपत्रे भन्ने बाटोको नामबाट कुनै आयोजना छैन ।’

पालिकाले सोही वडाको ग्रामिण सडक कालोपत्रे गर्न विशेष गाउँसभाबाट टेण्डर खुलेकोमा डि.जि प्रकाश कन्स्ट्रक्सनको मात्र लागत स्टिमेटभन्दा बढीको कबोल भएकाले सार्वजनिक खरिद ऐनअनुसार खरिद प्रक्रिया अस्वीकृत गरिएको प्रष्ट पारेको छ ।

उक्त टेण्डर रद्द गरी पालिकाकले केन्द्र सरकारको समपूरक बजेटबाट सडक स्तरोन्नतीको काम भने गरिरहेको छ । गत पुस २६ गते गाउँसभा बस्नुपर्नेमा उपभोक्ता समितिलाई नै योजना सम्झौताका लागि पुस २५ सम्मको सम्झौता दिएकाले लगत्तै २६ गते तयारी नपुगेका कारण गाउँसभा स्थगित भएको पालिकाले जनाएको छ ।

 दैनिकी डटकम नामक अनलाइनले केही वडाध्यक्ष र सदस्यहरुले गाउँसभा बोलाउन अनुरोध गर्दै लेखेको पत्रका आधारमा टेण्डर रद्दको विषयमा कमिसनको कुरा नमिलेर रद्द भएको भन्दै समाचार लेखेको थियो ।

वडाध्यक्षहरुले काउले चित्रकुले गौरीखर्क मोटरबाटोको टेण्डर कमिसन नमिलेर रद्द भएको भन्ने लगायतका विषयमा जवाफ माग गरेका थिए ।

यस्तै पालिकाले विद्यालय मर्ज, शिक्षक सरुवा र पदस्थापनमा कुनै पक्षपात र भेदभाव नरहेको प्रष्ट पारेको छ । यस्तै औषधि खरिद सम्बन्धमा सार्वजनिक खरिद ऐनअनुसार नै सबैभन्दा कम कबोल गर्ने सप्लायर्सलाई छनौट गरी गुणस्तर जाँच गरेर मात्रै खरिद भएको प्रस्ट्याइएको छ ।