Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

Image

अब परिणाममुखी हुनुपर्‍यो

शाश्वत शर्मा

१७ बुधबार , माघ २०८०९ महिना अगाडि

अब परिणाममुखी हुनुपर्‍यो

माघ १३, वीरगञ्जमा पनि पूर्वराजाको भव्य नागरिक स्वागत र अभिनन्दन भयो । त्यसो त पूर्वराजाले जनतासँगको अन्तरकृया सकृय गर्दै जानुभएको छ । पूर्वराजा जता गए पनि जनताले सकृयताको आह्वान गरिरहेका छन् । पूर्वराजाले राजनीतिक, सामाजिक र आमनागरिक, धार्मिक क्षेत्रमा लागेका र जीवनलगायतका सबै तह र तप्काका नागरिकहरुको आवाज प्रत्यक्ष सुन्ने यो परम्परा बढाउँदै लानु भएको देखिन्छ । पूर्वराजा सहमतिको राजनीतिका लागि आह्वान गरेको अभिव्यक्तिबाट बुझ्न सकिन्छ । आम जनता र समाजका सकृय नागरिक भन्छन्– भ्रष्टाचारी शासनशैलीको समाप्तीका लागि अब दह्रो प्रहारको जरुरत छ । हुन त सबै प्रकारका राजतन्त्र र हिन्दुवादीसमेत एक हुनसकेको भए जनआन्दोलनले उबाल लिइसकेको हुनेथियो । एकातिर दुगाई प्रसाईको आन्दोलन, अर्कोतिर राप्रपा र राप्रपा नेपालको आन्दोलन छ । यसैवीच एमालेले सत्ता ढाल्ने आन्दोलन थालेको देखिन्छ भने कांग्रेसका गगन थापा पूर्वराजाको सिको गर्दै जनतासँग कांग्रेस अभियानमा छन् । तर उच्च नेताहरु सत्तामा बसेर भ्रष्टाचार गर्न कुनै कसर बाँकी राखेको देखिदैन । पक्का कुरो के हो भने राजतन्त्रवादी र हिन्दुवादी एक भएर आन्दोलन गर्न नसक्दा परिणाम शून्य भएको हो । सबै प्रकारका असन्तुष्टहरु एक हुनसके परिणाम आउने थियो । मुख्य सवाल यो भ्रष्ट शासकहरुबाट मुक्ति हो । परिणाम आएपछि आआफ्ना तरिकाले जनअपेक्षा संवोधन गर्नतिर लागे हुन्छ । यत्ति कुरा असन्तुष्टहरु किन बुझ्दैनन्, आश्चर्य छ ।
मुलुकको दुर्दशा भइरहेको छ । आर्थिक, सामाजिक, राजनीतिक, कूटनीतिक, प्रशासन सबै क्षेत्र ध्वस्त भएका छन् । सर्बत्र राजनीति छ, राजनीतिभित्र अपराधतन्त्र छ । सुधारको गन्जाइस कतै देखिदैन । ८१ हजार ऋणभार प्रत्येक नेपालीको शीरभार बनिसक्यो । विकासका गतिविधि शून्यप्रायः छन् । जनतामा नैराश्यता बढेर गएको छ । युवापंक्ति विदेशीनका लागि लामबद्ध रहेका छन् । यतिसम्मको दुर्दशामा पनि राजतन्त्रवादी, हिन्दुवादी र राष्ट्रवादीहरु एक हुननसक्नु दुर्भाग्यकै कुरा हो । देश बचाउने, देशवासीले त्राण पाउने योजना सार्वजनिक हुनजरुरी छ । राजतन्त्र पुनस्र्थापनापछिका कार्यक्रम नआउँदा अन्यौल बढेको छ । दण्डित हुनुपर्नेहरु आज पनि राजतन्त्रको बिरोध गरेर आफूलाई पानीमाथिको ओभानो बनाइरहेछन् । यस्तो अवस्थाको अन्त्य गर्नका लागि समेत सहमतिको वातावरण बन्न जरुरी छ ।
भ्रष्ट चाल्नामा चालिनैपर्छ । समयको माग यही हो । सहमतिको राजनीति भनेको उर्जाशील नेतृत्वलाई अवसर हुनुपर्छ । फेरि भ्रष्ट आउनु अभिषाप हुनेछ । यसकारण पनि पार्टीभित्रका देशभक्तहरुसमेतको सहभागितामा आन्दोलन सफल पार्नुपर्छ । अनि देशलाई अगाडि बढाउने प्रकृयाको थालनी हुनुपर्छ । आन्दोलन सफल हुनासाथ पीडा र छटपटीमा रहेका जनताले कसरी राहत पाउने हुन्, त्यसको घोषणा हुनुपर्छ । आन्दोलनको सफलतापछि न्यायव्यवस्था र समानता, सक्षमलाई अवसर प्राप्त हुने प्रत्याभूति हुनुपर्छ । जनता राष्ट्र हुन्, जनता बलियो हुनासाथ देशले सम्मान प्राप्त गर्नेछ ।
लोकतन्त्र भन्ने नेताहरुले जनताको विश्वास गुमाइसकेका छन् । राजनीतिप्रति जनताको अविश्वासले महासंकटको संकेत गरिरहेको छ । आमनागरिकमा किन बस्ने यस्तो भ्रष्ट नेता भएको मुलुकमा भन्ने नकारात्मक भावना विकसित भएको छ । यसलाई चिर्नसमेत देशभक्तहरुले अब त्याग र केही गर्ने इच्छाशक्ति देखाउनु छ । हेरौं त भविष्य नदेखेर आत्महत्याका श्रृंखला बढेर गएको । लोकतन्त्र भन्नेहरुलाई यसको कुनै चासो नै छैन । कथित ठूला दलका नेताको बैठक बस्छ, उजागर भएका भ्रष्टाचारका मुद्दालाई सामसुम, छोपछाप पार्ने षडयन्त्रमा सकिन्छ । जनताका पीरमर्काका विषयमा के छलफल भयो, कुनै समाचार आउँदैन । नेपालीले बाघको छाला ओढेर बसेका ब्वाँसाहरुलाई राम्रैसँग चिनेका छन् । नेतृत्वको अभावमा असरल्ल, के गर्ने, कता लाग्ने भन्ने रनभुल्लमा परेको अवस्था पनि रहेको छ । स्वयम् पूर्वराजा नै नेतृत्वमा अगाडि आए साथ दिन जनता तैयार छन् भन्नेहरु पनि छन् । मंसिरमा जस्तो हावादारी आन्दोलन नहोस्, जे होस्, जनताले चाहेजस्तो होस् । केही व्यक्ति वा धार्मिक संस्थाको नाम उछालेर भएको आन्दोलनजस्तो अवको आन्दोलन नहोस्, सबै मिलेर देश र जनताका लागि, भ्रष्ट शासकको सातो जाने गरी आन्दोलन होस् ।
जनताहरु पूर्वराजा जिन्दावाद, राजा आउ देश बचाउ किन भनिरहेका छन् भन्ने कुरा हरेक आन्दोलनकारीले बुझ्नुपर्छ । एकता नभएको आन्दोलन परिणाममुखी नहुँदो रहेछ भन्ने पनि सोच्नुपर्छ । सत्ताधारीले १७ वर्षदेखि घात गरिरहेकै छन्, आन्दोलन गर्न तम्सिएका केही राजतन्त्र र हिन्दवादी, राष्ट्रवादीले पनि घात गर्ने हो भने जनतामा बढेको नैराश्यता झन झन घनिभूत हुनेछ । देश बिघटनको संघारमा छ, असफल भइहाल्ने अवस्थामा पुग्नु पहिले नै मुलुकको बृहत्तर हित चाहने र नेपाली हुँ भन्नेहरुले गम्भीर भएर सोचुन् । अबका दिनमा कसैलाई पनि ख्यालख्याल गर्ने छुट छैन, नेपाली जनताले त्यस्तो खेलाँची गर्ने छुट दिने छैनन्, हेक्का रहोस् ।