Advertisement Banner
Advertisement Banner

१७ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भारत नजाने, चीन जाने प्रधानमन्त्रीजी यस्तो पनि हुन्छ?

१३ सोमबार , पौष २०७२९ बर्ष अगाडि

 देशका लागि एकमुठी श्वास भएसम्म लड्छु भन्ने केपी ओलीको लडाकापन हो कि लडकपन (बालपन) हो, राष्ट्रिय संकटसँग जुध्न र स्वाधीनताका लागि नागरिकलाई लड्न प्रेरित गर्न छाडेर बेइजिङमा लम्पसार पर्ने रणनीति अख्तियार गरेका छन्। योभन्दा कायर काम अरु के होला? त्यसै पनि बाबुराम भट्टराईले आरोप लगाइसके– यो सरकारमा कमल थापा पो कार्यकारीजस्तो देखिन थाले। माधव नेपाल भन्छन्– हल्लैहल्लाले बनेको सरकार हल्लामात्रै गर्नथाल्यो। नेपालीमा उखान पनि छ, नमच्चिने पिङको सय झट्का। खाली भाँडो धेरै बज्छ। ओली त्यस्तै भए त?
प्रधानमन्त्री केपी ओलीले परराष्ट्रमन्त्री कमल थापामार्फत चीन भ्रमण गर्ने इच्छा प्रकट गरेपछि चीनले चीन भ्रमणको निम्तो दिएको छ। प्रधानमन्त्री हुनासाथ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीलाई बधाई र भारत भ्रमणको  निम्तो दिएका थिए। तर, संविधान र मधेस आन्दोलनका कारण नेपाल–भारत सम्बन्ध चिस्सिन पुगेको छ। आवेगमा ओलीले बोले पनि– नाकावन्दी नखुलेसम्म म मरिगए भारत भ्रमणमा जान्न। देश हितका लागि देशका नायकले मनपरेको ठाउँमा जान्छु, मन नपरेको ठाउँमा जान्न भन्ने होइन। त्यस्तो नेता राजनेता हुनै सक्दैन।     भारत नजाने, चीन जाने। प्रधानमन्त्रीजी यस्तो हठ पनि गर्ने हो? देशका लागि, देशको स्वाधीनता र सहजताका लागि के उपयुक्त हुन्छ, देशका प्रधानमन्त्रीले त्यही निर्णय गर्ने हो। देशका प्रधानमन्त्रीले रिसराग राख्ने अथवा शठपूर्ण हठ देखाउने होइन। भनिन्छ, राजनीति र कूटनीतिमा कहिले पनि स्थायी दुश्मन अथवा स्थायी मित्र हुँदैनन्। मुलुक संकटमा परेको अवस्थामा संकटको निवारण खोज्न नसक्ने असक्षम हाम्रा प्रधानमन्त्रीको चीन भ्रमण गर्ने इच्छा एकाएक किन पलायो? के ओलीजी, आफूलाई चीनको मित्र ठान्छन् अथवा उनी चाइनिज कार्ड फालेर सत्ता लम्ब्याउन चाहन्छन्।

माओ दिवसमा प्रचण्ड माओ

पेरिसडाँडामा १२२ओं माओदिवस मनाइरहदा प्रचण्डले घुमाएर आफूले आफैलाई नेपालका माओ भएको दावी गरे। प्रचण्डका अनुयायीहरुले सत्य हो भनेझैंगरी बेस्सरी तालि ठोके। प्रचण्डको कथन थियो– १९७१ को चीनका लिन प्याओ हुन्। तिनले माओलाई मार्ने असफल प्रयास गरेका थिए। मेरा दायाँबायाँ बस्नेहरु सम्झदा त्यस्तै षडयन्त्रको फोटोकपी देखापर्छ। आफूले पार्टीमा पेश गरेको २५ बुँदे प्रस्ताव सम्झदा माओले सांस्कृतिक क्रान्तिका बेला पेश गरेको १६ बुँदे जस्तै लाग्छ। लिन पाओ भागेर चीनको दुश्मन देशतिर भाग्न खोज्दा बाटैमा मरे। कुरा बुझ्नु भयो नि? त्योभन्दा बढी के भनुँ? अर्थात प्रचण्डको नेपालको सन्दर्भमा मै माओ हुँ भन्ने कथनप्रति पेरिसडाँडामा सहमति भयो। बैद्य र डा.बाबुरामको दोहोलो काढियो। माओ दिवसको सार, निथार यही हो एमाओवादीको।
चीनको ग्रेटहलमा अहिले पनि राजा महेन्द्रको फोटो छ। महेन्द्रले उपहार दिएको टोपी लगाएको फोटो कहिल्यै माओवादीहरुले हेरेनन्, महेन्द्र र माओवादीको  मित्रताको कारण खोज्न, विश्लेषण गर्न चाहेनन्। यतिमात्र होइन, १९७१ मै हो, माओले सांस्कृतिक क्रान्तिमा आफूबाट जनतामाथि हुन गएका अन्यायप्रति घुँडा टेकेर जनतासँग माफी मागेको। माओवादीका लागि राजा महेन्द्र भनेका निरंकूश, तानाशाहमात्र हुन्। आज पनि महेन्द्रले बनाइदिएका पूर्वाधारमा बाँचेकाहरुले राम्रो कुरा राजाबाट पनि सिक्न सकिन्छ भन्ने अझै बुझ्न चाहिरहेका छैनन्। स्वाधीनताका कुरा गर्नेहरुले खासमा यतिखेर माओमात्र होइन, देशकै महेन्द्र दिवस मनाएर सम्झना गर्नुपर्ने होइन र?