राजावादी च्यापेर सरकार टिकाउने, पूर्वराजालाई त्याग्ने? ओलीजी के हो यो? धेरैको मुखमा यस्तो प्रश्न सुनिन्छ। २०६३ साल वैशाख ११ गते राजनीतिक पार्टीहरुले भनेजस्तो गरी मरेको संसद पुनर्स्थापना गर्ने यिनै हुन्। २०६५ साल जेठ १५ गते गणतन्त्र कार्यान्वयन भएपछि संसदको आदेशलाई जनादेश मानेर गद्दी त्यागेर नागार्जुन जंगलबासतिर लागेर राजनीतिक परिवर्तनलाई सहयोग गर्ने पनि यिनै हुन्। यी तिनै पूर्वराजा ज्ञानेन्द्र शाह हुन्, जसले गणतन्त्र अथवा संसद, संविधानका कुनै आदेशको उल्लंघन गरेनन्। आज्ञाकारी असल नेपाली नागरिकका रुपमा सम्मानपूर्वक बसिरहेका छन्। यी पूर्वराजामाथि अझै पूर्वाग्रह? अनेकथरि लाञ्छना र आशंका? पूर्वराष्ट्रपति, प्रधानन्यायधीशले पाउनेजति पनि सुविधा यिनलाई राज्यले दिएको छैन। तैपनि यिनले कुनै गुनासो गरेको सुनिन्न। सधैं पशुपतिनाथले रक्षा गरुन् भन्ने मन्त्रपाठ गर्ने र देशमा शान्ति र जनताको हितको कुरामात्र गर्ने यी पूर्वराजामाथि पूर्वाग्रही हुनु भनेको राजनीतिक नेताहरुको दुराग्रहमात्र हो। बनको बाघले खाओस् कि नखाओस्, मनको बाघले खान्छ भनेझैं शक्तिशाली राजनीतिक दलहरु अहिले पनि पूर्वराजाप्रति नकारात्मक धारणा राखिरहेका छन्।
भूकम्पको विपद, त्यसपछि मधेस आन्दोलन र भारतीय नाकावन्दीले राष्ट्र र जनता अभूतपूर्व संकटमा छन्। देश असफल हुने सिमान्त घेरामा पुगिसक्यो। यस्तो बेलामा कसरी मुलुकको शान्तिव्यवस्था कायम गरेर नयाँ नेपाल निर्माण गर्न सकिन्छ भनेर पूर्वराजा, पूर्व विज्ञहरुसँग सुझाव सल्लाह लिएर राजकाज चलाउन हाम्रा नेताहरु किन कञ्जुसी गरिरहेका होलान्? अव पनि पूर्वराजाले कू गर्छन्, संसद फालिदिन्छन् भन्ने भयाक्रान्त हुने कि डरलाग्दो राष्ट्रिय अन्तर्राष्ट्रिय संकटको दलदलमा फस्दै गएको स्थितिसँग जुध्न जिम्मेवार हुने? विज्ञ, विश्लेषकहरुले राजनीतिक नेताहरुलाई यस्तो सल्लाह दिएका छन्। लाभ किन नलिने?