Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

उपप्रधानमन्त्रीद्धारा कोषको रकम आयमुलक कार्यमा उपयोग गर्न सुझाव

१५ सोमबार , माघ २०८०२ बर्ष अगाडि

उपप्रधानमन्त्रीद्धारा कोषको रकम आयमुलक कार्यमा उपयोग गर्न सुझाव

सैनिक कल्याणकारी कोषमा सञ्चित रकमलाई बढीभन्दा बढी आयमुलक कार्यमा उपयोग गर्न उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुझाव दिएका छन् । सैनिक कल्याणकारी निर्देशनालयको निरीक्षण गर्दै कोषको रकम हिताधिकारीहरूलाई थप आर्थिक तथा सामाजिक सुरक्षा उपलब्ध हुने योजना तथा कार्यक्रममा लगानी गर्न उपप्रधानमन्त्री खड्काले सुझाव दिएका हुन् ।

कोष स्थापनापछि हालसम्म १० लाखभन्दा बढी लाभान्वित भएकोमा खुसि व्यक्त गर्दै उपप्रधानमन्त्री खड्काले नेपाली सैनिक तथा आश्रित परिवारजनलाई गुणस्तरीय स्वास्थ्य र शिक्षा सेवामा थप बिस्तार गर्दै लैजान सुझाव दिएका थिए ।

नेपाली सेना र आश्रित परिवारको हितका लागि स्थापना गरिएको कोषको रकमबाट विभिन्न कल्याणकारी एवं आयमूलक कार्यक्रमको समन्वय र सञ्चालन भइरहेको छ भने विसं २०३२ मा स्थापना भएको कोष योगदानमा आधारित गैर नाफामूलक कल्याणकारी कार्यक्रम सञ्चालन भइरहेको बताईएको छ ।

कल्याणकारी कोषबाट सेनाका बहालवाला, अवकाशप्राप्त सैनिक तथा उनीहरूका आश्रित परिवारलाई शिक्षा, स्वास्थ्य, सहुलियतपूर्ण ऋण, आर्थिक सहायताका तथा आवास,बीमा जस्ता कार्यहरू सञ्चालन गरी विभिन्न राहत तथा सुविधा उपलब्ध गराउँदै आएको छ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त देशहरूमा शान्ति पुनर्स्थापनामा शान्ति सेनाका रूपमा खटिएबापत प्राप्त हुने रकमको केही अंश पनि कोषमा जम्मा हुने गरेको र कल्याणकारी कोषबाट सञ्चालन हुने कार्यक्रमहरूलाई कल्याणकारी कार्य, कल्याणकारी योजना र आयमूलक कार्य गरी तीन वटा खण्डमा विभाजन गरी सञ्चालन भइरहेको छ ।

कोषको समग्र वस्तुस्थितिबारेमा कोषका निर्देशकले उपप्रधानमन्त्री खड्कालाई जानकारी गराएका थिए भने उपप्रधानमन्त्री खड्काले कोषसँग सम्बन्धित प्रचलित ऐन, कानुन एवं नीतिगत व्यवस्थाहरूलाई समयानुकूल परिमार्जन गर्न आफूले सरकारको तर्फबाट सदैव आवश्यक सहयोग गर्ने बताएका थिए ।