Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउन आवस्यक

१४ आइतबार , माघ २०८०९ महिना अगाडि

स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउन आवस्यक

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउन गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउदै अगाडी बढ्नु पर्ने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औँ सभामा बोल्दै उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्ने बताए । साथै, उनले सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यमा सहयोग पुर्‍याउनुपर्नेमा जोड दिएका छन् ।  

प्रधानमन्त्रीले स्थानीय तहहरूबाट स्वास्थ्य बीमा कार्यक्रमलाई सफल बनाउन सकारात्मक प्रयास भइरहेको र राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई सफल बनाउन ललितपुर महानगरपालिकासँग विशेषज्ञसहितको स्वास्थ्य सेवाप्रवाह गर्न भएको सम्झौता देशकै लागि नमुना कार्यक्रम बन्ने बताएका छन् ।

प्रतिष्ठानले जनसमुदायलाई पुर्‍याउँदै आएको स्वास्थ्य सेवा थप स्तरीय र चुस्त बनाई अस्पतालले समयानुकूल विभिन्न सेवा र प्रविधिहरू थप गरी आफ्ना सेवालाई नागरिकको आवश्यकताअनुसार विस्तार गर्दै लगेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कोभिड–१९ बाट सङ्क्रमितहरूको परीक्षण र उपचारमा उल्लेख्य योगदान पुर्‍याएको स्मरण गरेका थिए ।

प्रधानमन्त्रीले स्वास्थ्य विज्ञानको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको अध्ययन, अनुसन्धानलाई प्रवर्द्धन गरी मुलुकको लागि आवश्यक दक्ष र गुणस्तरीय स्वास्थ्य जनशक्ति उत्पादनमा जोड दिन आवश्यक रहेको उल्लेख गर्दै त्यसतर्फ लाग्न प्रतिष्ठानलाई निर्देशन दिएका छन् ।