Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

चिसोले जनजीवन कष्टकर बन्दै

१४ आइतबार , माघ २०८०३ बर्ष अगाडि

चिसोले जनजीवन कष्टकर बन्दै

निरन्तरको शीतलहरसँगै बढेको जाडोबाट पश्चिम तराईंका जिल्लाको जनजीवन कष्टकर बनेको छ । घाम नलाग्ने बाक्लो हुस्सु र कुहिरोले गर्दा चिसो बढेसंगै जनजीवन कष्टकर बनेको हो ।

लगातारको बाक्लो हुस्सु र कुहिरोका कारण जाडोले जनजीवन कष्टकर बनेको र चिसोबाट वृद्धवृद्धा, स्कुले बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउने बढी प्रभावित भएको बताईएको छ । पश्चिम तराईंको कैलाली, कञ्चनपुर जिल्ला कुहिरो र हुस्सु लाग्न थालेपछि महिना दिनदेखि घरमा धोएको लुगा सुकाउन समेत समस्या पर्न थालेको छ ।

पश्चिम तराईका बाँके र बर्दियामा पनि शीतलहर चलेको र मध्यदिउँसो मात्रै घाम झुल्किन थालेपछि स्थानीयहरु प्रभावित भएको बताईएको छ । यता काठमाडौं उपत्यकामा यस वर्षको अहिलेसम्मकै बढी चिसो हुनुका साथै बिहान ६ बजे काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस मापन गरिएको छ ।

गएको बिहीबार र शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको थियो । काठमाडौँ लगायत मुलुकभर तत्काल हिउँदे वर्षाको सम्भावना नभएकाले जाडो अझै बढ्न सक्ने जल तथा मौसम विज्ञान विभागले बताएको छ ।

आज तराईका अधिकांश जिल्लाहरुमा हुस्सु र कुहिरो लागेको छ भने पहाडी भू-भागमा आंशिक बदली भएको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र राति कर्णालीको उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।