Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

फर्कनेभन्दा विदेश जाने नेपालीको संख्या कयौं गुणा बढी

०४ बिहिबार , माघ २०८०९ महिना अगाडि

फर्कनेभन्दा विदेश जाने नेपालीको संख्या कयौं गुणा बढी

अवसरको खोजीमा स्वदेश फर्किने भन्दा विदेश जानेको संख्या कयौं गुणा बढेको छ । स्वदेश फर्कनेभन्दा अवसरको खोजी गर्दै विदेश जाने नेपालीको संख्या झन्डै ३ लाख ५० हजार भन्दा बढीले बढेको हो ।

सन् २०२३ मा विदेशबाट स्वदेश फर्कनेभन्दा देश छोडी विदेशिने नेपालीको संख्या निकै ठूलो रहेको गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागले हालै सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ । विवरणअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२३ मा १६ लाख ३ हजार ८ सय ३६ नेपाली विदेश गएका थिए भने सोही अवधिमा १२ लाख ६३ हजार ४ सय ६९ नेपाली स्वदेश फर्केको बताईएको छ ।

यसरि विभागले सार्वजनिक गरेको विवरणअनुसार स्वदेश फर्कनेभन्दा विदेशिने नेपालीको संख्या ३ लाख ४० हजार ३ सय ६७ ले बढी रहेको छ । सन् २०२३ मा विभिन्न उदेश्यले विश्वका २०९ मुलुकमा नेपालीहरु गएको र सोही समयमा विश्वका २१५ मुलुकबाट नेपालीहरू स्वदेश फर्केको देखिन्छ ।

सन् २०२३ मा नेपालीहरू मानव बसोबास नरहेको अन्टार्टिका बाहेक अष्ट्रेलिया, अफ्रिका, दक्षिण अमेरिका, उत्तर अमेरिका र एसियाका प्राय सबै देशमा पुगेको जसमा सबैभन्दा बढी नेपाली गएको देश युनाइटेड अरब इमिरेट्स (यूएई) रहेको विवरणमा उल्लेख गरिएको छ । जसअनुसार यूएईमा २ लाख ७१ हजार ८८ नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गएको देखिन्छ ।

सन् २०२३ मा २ लाख १७ हजार १ सय ५९ जना सबैभन्दा बढी नेपाली यूएईबाट नेपाल फर्केका थिए । त्यस्तै सन् २०२३ मा यूएईपछि सबैभन्दा बढी नेपाली टीआईए हुँदै गएको देशमा भारत, कतार, मलेसिया, साउदी अरब, अष्ट्रेलिया, जापान, अमेरिका, बेलायत र कुवेत रहेका छन् ।

विभागको विवरणअनुसार भारतमा १ लाख ८१ हजार १६, कतारमा १ लाख ७९ हजार ४ सय ४१, मलेसियामा १ लाख ६५ हजार २ सय १, साउदी अरबमा १ लाख ३६ हजार २ सय ३, अष्ट्रेलियामा १ लाख ५ हजार ३ सय ४३, जापानमा ८२ हजार ७ सय ७२, अमेरिकामा ६७ हजार ८ सय १०, बेलायतमा ५३ हजार ४ सय १ र कुवेतमा ४८ हजार १ सय ३ जना नेपाली विदेश गएका थिए ।

त्यसैगरि सन् २०२३ मा भारतबाट २ लाख २ सय ८, कतारबाट १ लाख ९२ हजार ८ सय ८९, मलेसियाबाट १ लाख ८ सय १९, साउदी अरबबाट १ लाख ६ हजार ५ सय २९, अष्ट्रेलियाबाट ६९ हजार ३ सय ७७, जापानबाट ४५ हजार ७ सय ७४, अमेरिकाबाट ४६ हजार ५ सय ४७, बेलायतबाट ३० हजार ५ सय ५३ र कुवेतबाट ४४ हजार ३ सय ५७ जना नेपाली स्वदेश फर्किएको विभागको विवरणमा उल्लेख गरिको छ ।

सन् २०२३ मा दक्षिण कोरियाबाट १९ हजार ३०, थाइल्याण्डबाट २७ हजार ४ सय १२, चीनबाट २० हजार ७ सय ९७, हङकङबाट १८ हजार ६ सय ७, ओमानबाट १० हजार ५ सय २६, रोमानियाबाट २ हजार ५ सय ४९, सिंगापुरबाट ११ हजार २ सय ८७, पोर्चुगलबाट ६ हजार ६४, बंगलादेशबाट १० हजार ४ सय ३८ र बहराइनबाट ७ हजार ९ सय ७७ जना नेपाली स्वदेश फर्किएका थिए ।

त्यसैगरी रुसमा १ हजार ७ सय ९५ जना गएका र ८ सय ५ जना फर्किएका छन् । स्लोभाकिया, सुरिनेम, म्यासेडोनिया, डोमिनिका, पराग्वे, एल साल्भाडोर, बेनिन, जर्सि, गुयाना, लिसोथोलगायत २२ देशबाट एक–एक नेपाली स्वदेश फर्केका छन् भने १५ देशमा एक–एक नेपाली मात्र गएको विभागको तथ्यांकमा उल्लेख छ । अन्य १२ मुलुकमा नेपाली गएका मात्र छन् भने विश्वका सात देशबाट नेपाली फर्केका मात्र तर नगएको विभागको विवरण छ ।